थलारामा क्षयरोग खोजपडताल: ८ सय ६६ जनाको परीक्षण, ६ मा संक्रमण
बझाङ — बझाङको थलारा गाउँपालिकामा सञ्चालन गरिएको तीन दिने सक्रिय क्षयरोग खोजपडताल शिविरमा ६ जना नयाँ क्षयरोग संक्रमित फेला परेका छन्। चैत २६ देखि २८ गतेसम्म थलारा गाउँपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय बझाङ र स्वास्थ्य निर्देशनालय डोटीको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो।
गाउँपालिकाका ९ वटै वडामा सञ्चालित शिविरमा अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधियुक्त मेसिन प्रयोग गरी ८ सय ६६ जनाको छातीको एक्सरे परीक्षण गरिएको थियो। परीक्षणको आधारमा ५१ जनामा क्षयरोगको आशंका देखिएकाले उनीहरूबाट थुक (खकार) संकलन गरिएको थियो।
संकलित खकार नमुनाहरूलाई विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको अणुविज्ञानी तीव्र पहिचान प्रविधि प्रयोग गरी परीक्षण गरिएको थियो। परीक्षणको क्रममा ६ जनामा क्षयरोगको जीवाणु (माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस) पुष्टि भएको हो।
स्वास्थ्य कार्यालय बझाङ...











