काठमाडौँ— भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सलाई सुपर ओभरमा हराउँदै दिल्ली क्यापिटल्स शीर्ष स्थानमा पुगेको छ।
बुधबार अरुण जेट्ली रंगशालामा टस हारेर पहिले ब्याटिङमा उत्रिएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १८८ रन बनायो। त्यसपछि १८९ रनको लक्ष्य लिएर मैदानमा ओर्लिएको राजस्थानले पनि २० ओभरमा ४ विकेट गुमाएर १८८ रन बनायो, जसले गर्दा खेल सुपर ओभरमा पुग्यो।
सुपर ओभरमा पहिले ब्याटिङ गर्दै राजस्थानले ११ रन बनायो। जवाफमा दिल्लीले त्यो लक्ष्य केवल ४ बलमै पुरा गर्यो।
यो दिल्लीको ६ खेलमा पाँचौँ जित हो र उसले १० अंकसहित शीर्ष स्थानमा कब्जा जमाएको छ। राजस्थान भने सात खेलमा चार अंकसहित तालिकाको आठौँ स्थानमा छ। उसलाई यो प्रतियोगितामा पाँचौँ हार हो।


