झापा— आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा दुई अर्ब ३५ करोड १४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ८.२६ प्रतिशतले बढी हो।
कार्यालयका अनुसार अघिल्लो वर्ष साउनदेखि चैत महिनासम्म दुई अर्ब १७ करोड १९ लाख रुपैयाँ राजस्व संकलन गरिएको थियो। चालु आर्थिक वर्षमा चार अर्ब ६१ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ।
हालसम्मको संकलन कुल लक्ष्यको ८१.४५ प्रतिशत मात्र रहेको कर अधिकृत डोरराज सुनुवारले जानकारी दिए। नौ महिनामा आयकरबाट एक अर्ब सात करोड, ब्याजबाट सात करोड १९ लाख, मूल्य अभिवृद्धि कर (भीएटी) बाट ७६ करोड ७१ लाख र अन्तःशुल्कबाट ३९ करोड ९७ लाख रुपैयाँ संकलन भएको छ।
आयकर र भीएटी नतिर्ने ११ वटा फर्म तथा कम्पनीहरूलाई कारबाही गर्दै एक करोड ७५ लाख रुपैयाँ असुल गरिएको पनि सुनुवारले बताए।
“राजस्व संकलनमा लक्ष्य पूरा गर्न बजार अनुगमन र निगरानी बढाइएको छ,” उनले भने, “कर नतिर्नेहरूमाथि बैंक खाता र जग्गा रोक्का गर्ने जस्ता कानुनी प्रक्रिया पनि अगाडि बढाइएको छ। रासस

