काठमाडौँ— देशमा हाल स्थानीय वायुको प्रभावसँगै बंगालको खाडी र उत्तर प्रदेश आसपासको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनुका साथै बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज कोशी प्रदेश सहित देशका पहाडी भेगका केही स्थानमा र बाँकी ठाउँका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। कोशी प्रदेशका केही स्थानमा भारी वर्षा पनि हुन सक्ने चेतावनी दिइएको छ।
त्यस्तै, उच्च पहाडी र हिमाली भेगका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ। यस्तो मौसमका कारण कृषि, जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले सतर्क रहन मौसम विभागले आग्रह गरेको छ।


