आज देशका विभिन्न स्थानमा हल्का वर्षा, भोलि पनि पानी पर्ने सम्भावना
काठमाण्डौ– देशका केही स्थानहरूमा अहिले पनि हल्का वर्षा भइरहेको छ। उदयपुर, गुल्मी, जुम्ला, कैलाली, बाँके लगायतका जिल्लाहरूमा अहिले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार, आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र देशका अन्य भूभागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा ठूलो वर्षा हुनसक्ने पनि महाशाखाले जानकारी दिएको छ। उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना पनि रहेको छ।
हिजोदेखि देशका धेरै स्थानहरूमा वर्षा भएकोले तुवाँलो हटेको छ र वायु प्रदूषणमा सुधार आएको छ। यसका साथै, वन डढेलोमा लागेको आगो निभाइएको छ र किसानहरूलाई खेतबारी भिज्ने गरी पानी परेपछि खुशी भएका छन्। महाशाखाले भोलि पनि पानी पर्ने सम्भावना व्यक्त गरेको छ।...












