कैलाली- कैलालीको गेटा अस्पतालमा अबदेखि मुटु रोगको उपचार सेवा पनि सुरु गरिएको छ। सहिद गंगालाल हृदय केन्द्रमा कार्यरत रहेका मुटु रोग विशेषज्ञ डा. अजय भट्ट सरुवा भई गेटा अस्पताल आएपछि यो सेवा सुरु भएको हो।
अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीका अनुसार, डा. भट्टलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छात्रवृत्ति करार सेवाअन्तर्गत गेटा अस्पताल पठाएको हो। मंगलबारदेखि डा. भट्टले ओपिडी सेवा सुरु गरेका छन्।
हाल अस्पतालमा दैनिकजसो १० जना जति मुटु सम्बन्धी बिरामी आउने गरेका छन्। डा. भट्टका अनुसार, अस्पतालमा अत्याधुनिक इसिजी र इलेक्ट्रोकार्डियोग्राम (इको) मेसिन उपलब्ध छ, जसले परीक्षणलाई सहज बनाएको छ।
“गंगालालमा प्रयोग हुने तहकै इको मेसिन यहाँ उपलब्ध छ,” डा. भट्टले बताए, “छिट्टै हल्टर र टिमिएटी परीक्षण सेवा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।”
त्यस्तै, निकट भविष्यमै क्याथ ल्याब सेवा सुरु गर्ने तयारी समेत भइरहेको छ। हाल सुदूरपश्चिममा क्याथ ल्याब सेवा उपलब्ध नभएकाले यस सेवा सुरु हुन सकेमा हृदयघात लगायतका गम्भीर मुटु रोगको उपचारमा ठूलो सहजता हुने चिकित्सकहरुको भनाइ छ।

