लगातार १० बैठकमा अनुपस्थित भएपछि देउवा पदमुक्त
सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्।
सुदूरपश्चिम प्रदेशसभाका सचिव देवबहादुर बोगटीका अनुसार संविधान र प्रदेशसभा नियमावलीमा भएको व्यवस्थाबमोजिम लगातार १० भन्दा बढी बैठकमा बिना सूचना अनुपस्थित रहेपछि देउवाको प्रदेशसभा सदस्य पद रिक्त भएको हो।
सभामुख भीमबहादुर भण्डारीले आजै देउवालाई पदमुक्त गर्ने निर्णय गरेको सचिव बोगटीले जानकारी दिए।
नेपालको संविधानको धारा १८० को खण्ड (घ) मा सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित हुने प्रदेशसभा सदस्यको पद रिक्त हुने व्यवस्था छ। सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० ले पनि यही व्यवस्था गरेको छ।
देउवा गत वर्ष भदौ २८ गते भएको जेनजी आन्दोलनपछि व्यक्तिगत कामका लागि अमेरिका गएका थिए। उनी त्यसयता नेपाल फर्किएका छैनन्।
यससँगै देउवाको प्रदेशसभा सदस्य पद औपचारिक रूपमा रिक्त भएको छ।...












