बझाङ- बझाङको तलकोट गाउँपालिका- १, सुनिकोटस्थित वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन्। विकुल्ली गाउँमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् सेवा नपुगेको भन्दै आन्दोलित स्थानीयले बिहीबार वडा कार्यालयमा ताला लगाएका हुन्।
स्थानीयले विगत तीन दिनदेखि सुनिगाड जलविद्युत् आयोजना बन्द गराएर आन्दोलन गर्दै आएका छन्। त्यसपछि उनीहरू वडा कार्यालय पुगेर तालाबन्दी गरेका हुन्।
आन्दोलनरत स्थानीयका अनुसार विकुल्ली गाउँका बासिन्दा वर्षौँदेखि अन्धकारमा बस्न बाध्य छन्। “सरकार हराएको जस्तो देखियो, त्यसलाई बिउँझाउन आएका हौँ। हामी अझै टुकीको भरमा बसिरहेका छौँ,” आन्दोलनकारीले बताएका छन्।
स्थानीयको भनाइमा सुनिगाड जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्र विकुल्ली भए पनि हालसम्म गाउँलेले कुनै उल्लेखनीय सेवा–सुविधा पाएका छैनन्। उनीहरूले राष्ट्रिय प्रसारण लाइनमार्फत तत्काल विद्युत् सेवा उपलब्ध गराउन माग गरेका छन्।
यता वडा जनप्रतिनिधिले पनि गाउँमा विद्युत् सेवा आवश्यक रहेको स्वीकार गर्दै अपेक्षाअनुसार सेवा दिन नसकेको बताएका छन्। सम्बन्धित निकायसँग समन्वय गरेर समस्या समाधानको प्रयास भइरहेको उनीहरूको भनाइ छ।
स्थानीय कुबेर बम्मको नेतृत्वमा करिब ६० जना आन्दोलनमा सहभागी रहेका छन्। उनीहरूले माग पूरा नभएसम्म वडा कार्यालयमा लगाइएको ताला नखोल्ने चेतावनी दिएका छन्।

