कैलाली : नेपाल सरकारका स्थायी शिक्षक भुपेन्द्र रावलले आफ्नो स्थायी शिक्षक सेवाको १२ वर्ष पूरा भएको अवसरमा खुसीसँगै पेशागत पीडा पनि व्यक्त गरेका छन् ।
२०७१ साल भदौ १ गते शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी नेपाल सरकारको स्थायी शिक्षकका रूपमा सेवा प्रवेश गरेका रावलले १२ वर्षको शिक्षण यात्रामा हजारौँ विद्यार्थीको भविष्य निर्माणमा योगदान गर्ने अवसर पाएको बताएका छन् ।
आफ्नो नियुक्तिको दिन नागपञ्चमी तथा सुदूरपश्चिमको मौलिक पर्व ‘ओल्के (गाबे त्यार)’ परेको स्मरण गर्दै उनले यही दिनबाट सुरु भएको आफ्नो शिक्षण यात्रा १२ वर्ष पूरा भएको उल्लेख गरेका छन् ।
१२ वर्षको सेवा अवधिमा विद्यार्थीको सफलता र असफलतासँग जोडिँदै विद्यालयका समस्यालाई आफ्नै समस्या ठानेर जिम्मेवारी निर्वाह गरेको रावलको भनाइ छ तर, लामो सेवा अवधिमा समेत एक तह पनि बढुवा हुन नसकेको विषयले आफूलाई गहिरो पीडा दिएको उनले बताएका छन् ।
‘शिक्षकलाई राष्ट्रको भविष्य निर्माता भनिन्छ । विद्यार्थीको भविष्य बनाउने जिम्मेवारी शिक्षकको काँधमा राखिन्छ तर त्यही शिक्षकको आफ्नै पेशागत भविष्य भने १२ वर्षसम्म अन्योलमै रहनु विडम्बनापूर्ण कुरा हो,’ रावलले लेखेका छन् ।
उनले आफ्नो गुनासो तलब वा पदको लोभ नभई शिक्षकको पेशागत सम्मान, आत्मसम्मान र भविष्यसँग जोडिएको विषय भएको बताएका छन् । राज्यले शिक्षकबाट गुणस्तरीय शिक्षा, उत्कृष्ट नतिजा, अतिरिक्त जिम्मेवारी र समर्पणको अपेक्षा गर्ने हो भने शिक्षकको वृत्ति विकास, पदोन्नति र पेशागत सम्मानलाई पनि प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।
‘विद्यार्थीको भविष्य निर्माण गर्ने हातको आफ्नै भविष्य किन यति अनिश्चित?’ भन्दै रावलले राज्यको शिक्षकप्रतिको दृष्टिकोणमाथि प्रश्नसमेत उठाएका छन् ।
यद्यपि शिक्षकको पीडा सम्बोधन हुने, पेशागत विकासको बाटो खुल्ने र शिक्षकलाई सम्मानित पेशाका रूपमा स्थापित गर्ने दिन आउनेमा आफू आशावादी रहेको उनले बताएका छन् ।
१२ वर्ष पूरा भएको अवसरमा रावलले आफ्ना ब्याजी साथीहरू तथा सम्पूर्ण शिक्षक समुदायलाई शुभकामना दिँदै शिक्षकको पेशागत सम्मान, वृत्ति विकास र उज्ज्वल भविष्यको कामना गरेका छन् ।

