बझाङ- निर्माण व्यवसायी संघ बझाङका अध्यक्षसमेत रहेका शेर बोहराले निर्माण गरेको सडक निर्माण सम्पन्न भएको दुई महिनामै भासिएपछि समाचार लेख्दा पत्रकारमाथि नै खनिएका छन्। बोहराको सुर्मा सरोवर निर्माण सेवाले निर्माण गरेको चैनपुर–ताक्लाकोट सडक भासिन थालेको समाचार प्रकाशित भएपछि बोहरा पत्रकारमाथि खनिएका हुन्।
उनले आफ्नो सामाजिक सञ्जालमा ‘धन्यवाद पत्रकार ज्यु । यता बाट बुझ्नु धेरै पढेको अर्को पुत्रकाड्ले’ भन्दै पत्रकारलाई लक्षित गरेका छन्। जिम्मेवार पदमा रहेका व्यक्तिबाट पत्रकारप्रति गरिएको यस्तो टिप्पणीले उनको जिम्मेवारी र जवाफदेहितामाथि नै प्रश्न उठेको छ। साथै पत्रकार समेत लेख्न नजानेको आरोप समेत लागेको छ । निर्माण व्यवसायीलाई देश विकासको मेरुदण्डका रूपमा हेरिन्छ। तर, आफ्नै निर्माणसँग जोडिएको सडक दुई महिनामै भासिँदा त्यसको कारण र जिम्मेवारीबारे जवाफ दिनुको साटो पत्रकारमाथि आक्रोश पोखिनुले थप प्रश्न जन्माएको छ।
यसअघि पनि कामना टुडेले ‘एक महिनामै भासियो चैनपुर–ताक्लाकोट सडक’ शीर्षकमा समाचार प्रकाशित गर्दा बोहरा पत्रकारमाथि खनिएका थिए। पछि उनले निर्माणमा कमजोरी भएको स्वीकार गरेपछि विषय केही समयका लागि सेलाएको थियो। तर, फेरि सोमबार सडक भासिएको विषयमा समाचार प्रकाशित भएपछि उनले समाचार सेयर गर्दै पत्रकारलाई लक्षित गरी उस्तै शैलीको टिप्पणी गरेका हुन्।
पक्की सडक भासिँदा जयपृथ्वी नगरपालिका–११ को रुइनाबगर र तलकोट गाउँपालिका–१ को सुनिकोटका ३० भन्दा बढी घर जोखिममा परेका छन्। बझाङ सदरमुकाम चैनपुरबाट करिब ५ किलोमिटर उत्तरमा रहेको सडकको रुइनाबगरमा गाउँको माथिल्लो भागतर्फ करिब ४० मिटर र सुनिकोट बजारभन्दा तल करिब ३० मिटर सडक भासिएको छ। दुवै स्थानमा सडक करिब एक मिटर तल दबिएको र भासिने क्रम अझै नरोकिएको सडक कार्यालयले जनाएको छ।

