काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल कोशी र लुम्बिनी प्रदेशका सबैजसो क्षेत्रमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा धेरै स्थानमा मध्यम वर्षा हुनसक्नेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र, कर्णाली र सुदूरपश्चिमका पहाडी भाग तथा लुम्बिनीका पहाडी र तराई क्षेत्रमा केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
आज रातिसमेत देशभर बदली रहनेछ। पहाडी क्षेत्र तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्नसक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, पर्वतारोहण, स्वास्थ्य सेवा र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

