बझाङको छविसपाथिभेरा गाउँपालिकामा सम्पन्न राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधि जनप्रिय नमुना माध्यमिक विद्यालय, बगडगाउँले जितेको छ। प्रतियोगिता मंसिर १२ गतेदेखि १७ गतेसम्म जनप्रिय नमुना माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न भएको थियो।
प्रतियोगितामा आठ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो। जनप्रिय विद्यालयले १२ स्वर्ण, ५ रजत, र २ कांस्य पदक जित्दै प्रथम स्थान हासिल गर्यो। दोस्रो स्थानमा बान्निचौर माध्यमिक विद्यालयले ९ स्वर्ण, ४ रजत, र ३ कांस्य पदक हात पार्यो। सत्यवादी माध्यमिक विद्यालय, जयपृथ्वी नगरपालिकाले २ स्वर्ण, ७ रजत, र ६ कांस्य पदकसहित तेस्रो स्थानमा रह्यो।
प्रथम स्थान हासिल गर्ने विद्यालयलाई छविसपाथिभेरा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष करणजंग बहादुर सिंहले नगद २२ हजार पुरस्कार प्रदान गरेका छन्। अध्यक्ष सिंहले यो सहयोग आफ्नो व्यक्तिगत तलबबाट गरेका हुन्। साथै, उनले विद्यार्थीहरूको खेल सामग्री, पोशाक, र अन्य आवश्यक सहयोगसमेत उपलब्ध गराएका छन्।
समाजसेवीका रूपमा परिचित अध्यक्ष सिंहले खेलकुदको विकास र विद्यार्थीहरूको उत्साहवर्धनका लागि निरन्तर सहयोग गर्दै आइरहेका छन्। प्रतियोगिताको सफल आयोजनामा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै आयोजक समितिले सिंहको योगदानको प्रशंसा गरेको छ।
राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको सफलतापूर्वक समापनसँगै जनप्रिय नमुना माध्यमिक विद्यालयले गौरवमय उपाधि हात पारेको छ।

