काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
सहमति अनुसार एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने नेकपाले कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ।
यस्तै, गण्डकी र मधेस प्रदेशको नेतृत्वबारे भने सहमति जुट्न बाँकी छ। लिखित सहमतिअनुसार ती प्रदेशमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिनेछ।
यससँगै एमालेले तीन र नेकपाले दुई प्रदेश सरकारको नेतृत्व गर्ने गरी दुई दलबीच सहकार्यको औपचारिक आधार तय भएको छ।

