धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्राडा जेपी अग्रवाल, स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा र शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलले आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा डा. केसीसँग भेट गरी वार्ता सुरु गरेका हुन्।
स्वास्थ्यमा समस्या देखिएपछि डा. केसीलाई शनिबार अनशनस्थल कृष्ण मन्दिर धर्मशालाबाट सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। उनको स्वास्थ्य परीक्षण तथा निगरानीका लागि फिजिसियन डा. गजेन्द्र दुवालको नेतृत्वमा चिकित्सकको टोली खटिएको छ।
यसैबीच, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले डा. केसीले उठाएका विश्वविद्यालयका पदाधिकारी नियुक्तिसम्बन्धी विषयमा सम्बन्धित निकायले स्पष्ट पार्न आग्रह गरेको छ। समितिले गोदावरी नगरपालिका–५, कैलालीमा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालयबारे नकारात्मक टिप्पणी र अफवाह फैलिँदा अन्योल बढेको भन्दै डा. केसीका मागबारे स्पष्ट जानकारी दिन आग्रह गरेको हो।

