बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश्चिम प्रदेश, बझाङ जिल्ला, दुर्गाथली गाउँपालिका–४ का जनेश्वर जोशी नेपाली जनसम्पर्क समिति भारतको १०औँ केन्द्रीय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ।
विगत धेरै वर्षदेखि भारतको बेङ्लोरमा बसोबास गर्दै आउनुभएका जोशी प्रवासी नेपालीहरूको हक, हित र अधिकारका लागि अग्रपङ्क्तिमा रहेर काम गर्ने सक्रिय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। उहाँले सामाजिक एकता, संगठन सुदृढीकरण, मानवीय सेवाका अभियान तथा नेपाली समुदायलाई एकसूत्रमा बाँध्ने कार्यमा निरन्तर योगदान दिँदै आउनुभएको छ।
राजनीतिक र सामाजिक सक्रियतासँगै जोशी वैदिक पण्डित तथा ज्योतिषका रूपमा पनि लोकप्रिय हुनुहुन्छ। धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक सेवामार्फत हजारौँ नेपाली परिवारसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न सफल उहाँ एक सफल व्यवसायीका रूपमा समेत स्थापित हुनुहुन्छ। समाजसेवा, धर्म, व्यवसाय र संगठनलाई एकसाथ अघि बढाउँदै उहाँले प्रवासी नेपाली समुदायमा आफ्नो छुट्टै पहिचान बनाउनु भएको छ।
केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै जोशीले भावुक हुँदै भन्नुभयो,
“प्रवासमा बस्दा पनि मेरो मन सधैं आफ्नै जन्मभूमि नेपालमै हुन्छ। नेपाल मेरो पहिचान हो, मेरो गौरव हो। चाँडै नेपाल फर्किएर आफ्नो गाउँ, ठाउँ, क्षेत्र र देशको विकास तथा सेवामा जीवन समर्पित गर्ने मेरो दृढ संकल्प छ।”
जोशीको निर्वाचनलाई प्रवासी नेपालीहरूका लागि नयाँ आशा र विश्वासको रूपमा हेरिएको छ। उहाँको नेतृत्व क्षमता, इमानदारी, सेवाभाव, संगठन निर्माणको अनुभव तथा जनतासँगको निकट सम्बन्धले नेपाली जनसम्पर्क समिति भारतलाई अझ सशक्त, प्रभावकारी र जनमुखी बनाउने विश्वास गरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार प्रवासमा सामाजिक, धार्मिक, व्यावसायिक र संगठनात्मक क्षेत्रलाई समानान्तर रूपमा अघि बढाउँदै आएका जोशीजस्ता नेतृत्वको उदयले नेपाली जनसम्पर्क समिति भारतलाई नयाँ ऊर्जा, स्पष्ट दिशा र थप गतिशीलता प्रदान गर्ने अपेक्षा गरिएको छ।
प्रवासमा बसेर पनि मातृभूमिप्रतिको माया, समाजप्रतिको जिम्मेवारी र सेवाभावलाई कहिल्यै कमजोर हुन नदिने जनेश्वर जोशीको यात्रा अहिले धेरै युवाका लागि प्रेरणाको स्रोत बन्दै गएको छ। उहाँको केन्द्रीय सदस्यमा भएको निर्वाचनलाई केवल एउटा पद प्राप्तिको रूपमा नभई प्रवासी नेपालीहरूको विश्वास, संघर्ष र समर्पणको सम्मानका रूपमा समेत हेरिएको छ।

