नेपालको राजनीतिक यात्रामा “व्यवस्था परिवर्तन” भए पनि अवस्था भने उस्तै देखिन्छ । पछिल्लो समय याहाँकाे चित्रण हेर्दा एउटा निरन्तर दोहोरिइने मन्त्र जस्तै बनेको पाईन्छ । राजतन्त्रको ऐतिहासिक अन्त्य भयो, “जनताको शासन” भन्ने गणतन्त्रको घोषणा भयो । सिंहदरबारको दिव्य सत्ता गाउँ-गाउँ, टोल-टोलसम्म पुग्ने सुनौलो सपना देखाइयो। लोकतन्त्र, गणतन्त्र, संघीय गणतन्त्र एकपछि अर्को नयाँ संरचनाहरूको स्थापनाको घोषणा भइरहे । तर प्रश्न उठ्छ- के ती परिवर्तनहरूले जनताको वास्तविक जीवनमा साँच्चिकै परिवर्तन ल्याए ।
संविधान लेखियो, चुनावहरू गरिए, नयाँ सरकारहरू बने। तर सडकमा हिँड्ने सर्वसाधारणको अनुहारमा अझै उस्तै निराशा छ। सहरका गल्लीहरूमा भोक, अस्पतालका बार्दलीहरूमा आक्रोश, विद्यालयहरूमा सम्भावनाको कमी, अनि युवाहरूको आँखामा विदेशी भूमिको सपना छ। देशमा रोजगारीको अभाव, अवसरको अपुग र राजनीतिमा निरन्तरको अस्थिरताले लाखौं युवाहरूलाई आफ्नै देश छाड्न बाध्य बनाएको छ।
आज दक्ष, शिक्षित, जोशिला युवाहरू खाडीका मरुभूमिमा पसिना बगाइरहेका छन्, फ्याक्ट्रीका मशीनको आवाजसँगै भविष्य गुमाइरहेका छन्। देशको सम्भावना बोकेका काधहरू विदेशमा श्रमिक बनेका छन्। अनि यता देशमा शासन गरिरहेकाहरू, राजनीतिक दलका नेताहरू सत्ता, सुविधा र सुरक्षाको घेराभित्र रमाइरहेका छन्। जनताको पीडा उनीहरूको भाषणमा त सुनिन्छ, तर व्यवहारमा कतै देखिँदैन।
गणतन्त्र जनताको शासन हो भनिन्छ। तर आजको गणतन्त्र हेर्दा यस्तो लाग्छ; यो जनताका लागि होइन, नेताका लागि मात्रै ल्याइएको हो। जुन लोकतन्त्रले जनतालाई अधिकार दिने थियो, त्यो आज केही शक्तिशाली व्यक्तिहरूको हातमा सीमित भएको छ। देशको समृद्धि भन्दा व्यक्तिगत सत्ता र स्वार्थ प्रमुख मुद्दा बनेका छन्।
वास्तविक परिवर्तन भनेको केवल सत्ता र संरचना परिवर्तन होइन। त्यो त जनताको जीवनशैलीमा परिवर्तन ल्याउनु हो। स्वास्थ्य, शिक्षा, रोजगारी, न्याय, र सम्मानित जीवनका आधारहरू सबै नागरिकलाई सुनिश्चित गर्नु नै साँचो अर्थात वास्तविक परिवर्तन हो। तर यहाँ त व्यवस्था परिवर्तनको नाममा केवल मुखौटा फेरिएको देखिन्छ। शासनकाे अनुहार फेरियो, तर शासनको चरित्र उस्तै रह्यो।
आजको आवश्यकता केवल शासन परिवर्तन होइन, सोच परिवर्तन पनि हो। युवा पुस्ताले नारामा मात्र होइन, व्यवहारमा पनि परिवर्तन खोज्नुपर्छ। नेताहरूले आत्मसमीक्षा गर्नुपर्छ।
किन व्यवस्था फेरिँदा पनि अवस्था फेरिएन?
निष्कर्षमा, गणतन्त्र र लोकतन्त्रका नाममा जनतालाई झुटा सपना देखाएर आफूले मात्र लाभ लिने प्रवृत्तिकाे अन्त्य हुनुपर्छ। जनताको आशा, सपना र भविष्यलाई केन्द्रमा राखेर मात्र गणतन्त्रको सार्थकता पुष्टि हुन सक्छ। नत्र यो गणतन्त्र पनि इतिहासको अर्को निराशाजनक अध्यायमा परिणत हुनेछ ।

यो लेख बझाङका विधार्थी हेमन्त बोहराको हो ।

