धनगढी- कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी तथा खेल प्रतिभालाई लक्षित गर्दै भक्तपुरमा ‘प्रथम कर्णाली फुटसल कप २०८३’ आयोजना हुने भएको छ।
नेपाल अर्गानिक घरको मुख्य प्रायोजनमा प्रतियोगिता आगामी साउन १६ र १७ गते मध्यपुर थिमीस्थित याल फुटसलमा आयोजना हुने आयोजकले जनाएको छ।
प्रतियोगिता साउन १६ गते बिहान ७ बजेदेखि सुरु हुनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेश घर भई हाल काठमाडौं उपत्यकामा रहेका खेलाडी तथा फुटसल क्लबलाई लक्षित गरी प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगिताको विजेता टोलीले नगद ५५ हजार ५५५ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै, उपविजेता टोलीले २५ हजार ५५५ रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुने टोलीका लागि ५ हजार ५५५ रुपैयाँ दर्ता शुल्क तोकिएको छ। टिम दर्ता तथा प्रतियोगितासम्बन्धी जानकारीका लागि संगम शाहीको ९८४३८६२५६२, स्वदेश शाहीको ९८६५१३८४१५ र भुवन शाहीको ९८६९४६६६८१ नम्बरमा सम्पर्क गर्न सकिनेछ।
आयोजकका अनुसार प्रतियोगिता खेलकुदमा प्रतिस्पर्धा गराउने मात्र नभई कर्णाली र सुदूरपश्चिम प्रदेशका युवाबीच आपसी एकता, भाइचारा र सद्भाव कायम गर्दै सामाजिक तथा भावनात्मक सम्बन्धलाई थप मजबुत बनाउने माध्यम बन्ने अपेक्षा गरिएको छ।
काठमाडौं उपत्यकामा रहेका कर्णाली र सुदूरपश्चिमका युवाहरूलाई एउटै खेलकुद मञ्चमा जोडेर आपसी चिनजान, सहकार्य र सम्बन्ध विस्तार गर्न प्रतियोगिता आयोजना गर्नलागेको आयोजकको भनाइ छ।
आयोजकले कर्णाली र सुदूरपश्चिम प्रदेशबाट काठमाडौं उपत्यकामा आएर बसोबास गरिरहेका खेलाडी, फुटसल क्लब तथा खेलप्रेमीलाई प्रतियोगितामा सक्रिय सहभागिता जनाई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ।
मोफसलमा रहेका खेल प्रतिभालाई अवसर प्रदान गर्नुका साथै खेलकुदमार्फत दुई प्रदेशका युवाबीच एकता र भाइचाराको भावना विकास हुनेछ ।

