
धनगढी – कैलालीको धनगढीमा रहेको शिवपुरी धाममा प्राणप्रतिष्ठा महायज्ञ लाग्ने भएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको शिवपुरी धाममा ११ औं पटक श्रीमद भागवत प्रवचन, मत्स्यपुराण पारायण, महाआरती, अनुमान चालिया हवनात्मव अनुष्ठान गरिने भएको हो।
शिवपुरी उत्तररामेश्वरम् ज्योतिलिङ्ग धाम विकास समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन २ गतेबाट एक हप्ता प्रवचनसहितको महायज्ञको आयोजना गर्ने बताएको छ।
हरेक वर्ष फागुन २ गते देखि महायज्ञको आयोजना गर्दै आएको धाम व्यवस्थापन समितिका अध्यक्ष बल्देव प्रसाद भट्टले बताए।
उनले महायज्ञमा श्रृगारिक महाआरती, हनुमान चालिसा हवनात्मक अनुुष्ठान, अष्ठचिरन्जीवि प्राण प्रतिष्ठा महायज्ञ हुने बताए। १०८ शिवलिंग स्थापना संकल्प पनि हुने उनले बताएका छन्।
महायज्ञमा ब्रम्हनिष्ठ सन्त शिरामणी लोकानन्द स्वामीको प्रवचन, प्रखर पुराणबाचक पुराणोपासक आचार्य सत्यराज अवस्थीबाट संगीतमय प्रवचन, वैद्धिक कार्यहरु विवाह, ब्रतबन्ध, ८४ पूजा, गृहशान्ति, कालसर्पयोग निवारण जस्ता अनुुष्ठानहरु पनि हुने बताईएको छ।
महायज्ञमा वाराणसीको गंगाघाट र पशुपतिनाथको गंगाघाटमा हुने संगीतमय आरती, पञ्चकुण्डमा हवन अनुुष्ठान, भगवान शंकरको रुद्राभीषेक हुने पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो।
शिवपुरी धाम २०७० सालदेखि दाताहरुको दानबाट मात्र निर्माण भएको हो। धाममा करोडौंका संरचना दानदाताबाट निर्माण भएका छन्।
पत्रकार सम्मेलनमा धाम व्यवस्थापन समितिका उपाध्यक्ष सिद्धराज पनेरुले १०८ फिटको शिवलिंग धामको मुख्य आकर्षण रहेको बताएका छन्।


