बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ ।
महिलाहरूको आर्थिक सशक्तीकरण र स्थानीय स्रोत साधनको उपयोगलाई प्रवर्द्धन गर्न ७ दिने दुना, टपरी सीप विकास तालिम प्रदान गरिएको हो ।
वडाका २६ जना महिलालाई स्थानीय स्तरमै उपलब्ध मालु र चुउराको पात प्रयोग गरी दुना, टपरी निर्माण गर्ने व्यावहारिक सीप प्रदान गरिएको छ । सहभागीहरूले दुना, टपरी निर्माण प्रक्रिया, उत्पादनको गुणस्तर व्यवस्थापन, बजारीकरणका उपाय तथा आयआर्जनका सम्भावनाबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गरेका छन् ।
स्थानीय सीप र उत्पादनको प्रोत्साहन गरौँ भन्ने मूल नारासहित सञ्चालन गरिएको तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउँदै आयआर्जनका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
दुना, टपरी उत्पादनलाई भविष्यमा उद्योगका रूपमा विकास गर्ने तयारी रहेको गाउँपालिका प्रवक्ता तथा वडा अध्यक्ष हरिश्चन्द्र जोशीले बताए। स्थानीय स्रोतको अधिकतम उपयोग गर्दै महिलाहरूलाई स्वरोजगार र उद्यमशीलतामा जोड्ने तालिम सञ्चालन गरिएको उनको भनाइ छ।
उनका अनुसार परम्परागत सीपलाई आधुनिक आयआर्जनसँग जोड्ने यस्ता कार्यक्रमले महिलाहरूको आर्थिक अवस्था सुदृढ बनाउन सहयोग पुग्नुका साथै वातावरणमैत्री उत्पादनको प्रवर्द्धनमा समेत टेवा पुर्याउनेछ।
आर्थिक वर्ष २०८२/०८३ अन्तर्गतको महिला सशक्तीकरण सीपमूलक कार्यक्रममार्फत सञ्चालित तालिमले आफूहरूलाई आत्मनिर्भर बन्न तथा स्थानीय स्रोत साधनको उपयोगमार्फत आयआर्जन गर्न ठूलो सहयोग पुग्ने सहभागीहरूको भनाइ छ।

