
कैलाली – तीन वर्षमा निर्माण पूरा हुनुपर्ने डोटीको शिखर नगरपालिका–१० स्थित सेती नदीमाथि निर्माण भइरहेको मोटरेबल पुल निर्माणको प्रगति नौ वर्ष बितिसक्दासमेत २२ प्रतिशत मात्रै भएको छ ।
सम्झौता अनुसार तीन वर्षमा काम पूरा हुनुपर्ने थियो । तीन वर्ष पहिलो ठेक्का सम्झौता अवधि सकिएर पाँच पटक ठेक्काको म्याद थप भइसकेको छ । पछिल्लो सम्झौताको म्याद गत असार २८ गते सकिएको हो ।
मूल्य अभिवृद्धि कर (भ्याट) सहित २६ करोड २० लाख रुपियाँको लागतमा ३२० मिटर लम्बाइको आरसिसी पुल निर्माण हुने गरेर सम्झौता भएको थियो ।
सेती नदीमा पुल निर्माण नहुँदा शिखर नगरपालिका–११ सडक सञ्जालसँग जोडिन सकेको छैन। नदीमा पुल नभएकै कारण २०४९ सालदेखि निर्माण सुरु भएको सातनाली मेल्लेख सडकसमेत अलपत्र परेको छ ।