
काठमाण्डाैं – किराँत समुदायको दोस्रो महत्त्वपूर्ण पर्व उधौली आज देशभर हर्ष उल्लासकासाथ मनाइँदैछ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनमा उधौली पर्व मनाउने गरिन्छ ।
किराँत समुदायमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन छ । किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडिएको छ, उधौली र उभौली । खेतीकिसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ । यस्तै, वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ ।
खेती किसानी गर्नका लागि मनाइने पर्व उभौली हो भने बाली भित्र्याउने समयमा उधौली पर्व मनाउने गरिन्छ ।
उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाइ पितृ पूजा गरिनाकासाथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ ।
किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत भेषभूषा लगाएर सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्यसहित विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन् । उधौलीको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलयायतले शुभकामना दिएका छन् । यसै अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।