Advertisement
Friday, June 20

´चरित्रहिन आईमाई`

Advertisement

‘तँ चरित्रहीन त होस् ।’ विवेक जोडले करायो । ‘किन ? के चरित्रहीन काम गरें मैले ?’ सानो स्वरमा सोधी सविताले ।‘अझ मुखमुखै लाग्छेस् ?’ विवेकले आफ्नो आक्रोशको डिग्री बढायो । ‘बढी बोलेकी होइन, सोधेकी मात्र हुँ । मैले त्यस्तो के चरित्रहीन काम गरें ?’ सविताले थप स्पष्टीकरण मागी । ‘बढ्ता बोल्ने होइन ल । मेरो रिसको पारो तातिसक्यो अब । अति भो अति ।’ विवेकको आक्रोशका अगाडि सविताले चुप नलागी धर पाइन । 

विवेक एक्लै बर्बराउन थाल्यो–`मेरो अघाडी बढी बोल्छ, समयमा भात पकाउनु छैन । न कपडा आइरन गरेको छ, न घर सफा–सुग्गर छ । मोबाइलमा पनि कति झुन्डिन सकेको ? को छ हँ तेरो मोबाइलमा झुन्डिरहन पर्ने स्पेशल मान्छे ?’ 

होइन के भनेको हजुरले ? कहिलेकाहीँ एक्लै हुँदा मन भुलाउन मोबाइल चलाउँछु हजुरबाहेक को हुनु र अरु मेरो ?’ सविताले आफ्नो स्पष्टीकरण प्रस्तुत गरी । 

‘अझ सदुइ बन्छेस् ? म हुँदाहुँदै एक्लै भईस् हैन ? दुनियाँ केटाहरूसँग गफ गरेकी होली, अनि मलाई आँखामा छारो हाल्छ साली, चरित्रहीन आइमाई ।’ विवेकको भएभरको रिस एकैपटक पोखिन्छ । सविता केही पनि बोल्दिन तर विवेकको रिसको पारो झर्दैन । उसको पुरुषत्व वाणी निरन्तर चलिरहन्छ । ‘दिनदिनै लुगा फेरेको छ । नखरा पार्न पनि कति जानेकी ? कसलाई देखाउन हरेक दिन लुगा फेर्नुपर्ने हँ ? उफ् ! म पनि कस्तो अभागी । संसारमा कोही केटी नभएको जस्तो यस्ता केटीको फेला परेछु ।’ विवेकको रिसको डिग्री उकालो लाग्न छोडेको छैन । सवितालाई भने बोल्ने जाँगर चल्दैन । कति दिन बोल्नु एक दिन भए पो बोल्नु । ऊ चुप लाग्छे । विवेकको एकोहोरो गर्जनको साम्राज्य चलिरहन्छ । 

…………….

सविता विगतका दिनहरू सम्झन्छे । जुन दिन विवेक उसलाई पाउन मरिहत्ते गथ्र्यो । सविता कलेज पढ्थी । विवेक सानोतिनो व्यापार गथ्र्यो । सविता कलेजकी गनिएकी केटी थिई । रूपमा होस् वा पढाइमा । शिक्षकहरूकी आँखाकी नानी । पुरुष सहपाठीहरूकी केन्द्रविन्दु अनि केटी सहपाठीहरूकी ईष्र्या पात्र पनि । अनुहारमा मात्र होइन व्यक्तित्वमा पनि उसमा भिन्न चमक थियो । एक से एक केटाहरू सवितासँग लोभिन्थे तर सविताको व्यक्तित्वका अगाडि कोही पनि प्रेम प्रस्ताव राख्ने हिम्मत गर्दैनथे ।

व्यापार गर्नेको दिमागले जहिले पनि फाइदा खोज्छ । घाटाको व्यापार अरूको पोल्टामा हालिदिनु र फाइदा जति आफ्नु ढुकुटीमा पार्नु व्यापारीको धर्म नै हो । कलेज आउँदा जाँदा जब सविता विवेकको नजरमा परी तब विवेकको मनमथिंगलमा सविताले साम्राज्य जमाई । आफूले थाहै नपाई सविता विवेकको स्वप्नसुन्दरी भैसकेकी थिई । व्यापारिक दिमागको विवेक सविताको पिछा गर्न लाग्यो । केही समय त सविताले विवेकलाई भाउ दिइन, जसरी कलेजमा उसले आफ्नो पछि लाग्ने अरु केटाहरूलाई पनि भाउ दिएकी थिइन तर विवेकले किन छाड्थ्यो । आखिर नारी मन न हो, बिस्तारै सविता पग्लिई । फलामजस्ती कठोर सविता नौनीजस्ती नरम भई । बिस्तारै विवेकसँग नजिकिई । सविता विवेकको बनिदिने भई । व्यापारीले राम्रो सामान हात पारेरै छोड्यो ।

सविता र विवेकको रोमान्समा दुनियाँ चकित हुन्थ्यो । भन्थे–‘जोडी हुनु त सविता र विवेकको जस्तो । परेवा र परेवीको झैं ।’ सविताका सहपाठीहरू ईष्र्या गर्दै भन्थे–‘सवितालाई कति माया गर्छ हगि त्यो विवेकले ? कति भाग्यमानी सविता । उसको जस्तो केटा भए पो प्रेम गर्नु ?’ 

आदर्श प्रेमी–प्रेमिकाको नमुना थियो विवेक र सविताको जोडी । विवेक सवितालाई बजारमा नयाँ–नयाँ आएका अनेक थरिका आकर्षक पहिरन किनेर ल्याइदिन्थ्यो । भन्थ्यो–‘तिमीलाई आधुनिक पहिरन सुहाउँछ ।’ सवितामा भने आधुनिक पहिरनमा त्यति रुचि थिएन तर विवेकका लागि लगाइदिन्थी ऊ, खुसी भएर । 

दर्जनौं केटा सविताको सुन्दरतामा र्‍याल चुहाउँथे । सविता कहिलेकाहीँ विवेकलाई भन्थी– ‘हेर विवेक ! त्यो आलोकले पनि मलाई मन पराउँछ नि । अनि अनिलले पनि । अनि त्यो ……’ धेरै केटा सविताको पछि लाग्दा पनि सविताले उनीहरूलाई भाउ नदिएको देख्दा विवेक भन्थ्यो–‘तिमी कति चरित्रवान् छौ हगि सविता । मबाहेक कुनै केटामाथि आँखा लगाउँदिनौ ।’ आफ्नो प्रशंसामा सविता दङ्ग भएर फुल्थी । 

कहिलेकाहीँ मुड चलेका बेला विवेक सवितालाई जिस्क्याउँदै भन्थ्यो–‘विचरा ती अनिल, अशोक तिमीलाई सम्झेर र्‍याल चुहाउँदै होलान् तर तिमी भने मसँग मस्त । म तिम्रो दिलको सम्राट् बनें सवि । तिमी मेरी दिलकी साम्राज्ञी । हेर विचरा ती अभागी केटाहरूको हालत । हाहाहाहा…..’सविता कम बोल्थी । केही प्रत्युत्तर दिन्नथी । मात्र निर्दोष हासो हाँस्थी ।

………..

समय बित्तै गयो ।  धर्ती आफ्नो गतिमा चलिरह्यो । चन्द्र र सूर्य आफ्नो गतिमा हिँडिरहे । विवेक र सविताबीचको झन्डै दुई वर्षको प्रेमले सामाजिक सम्झौताको रूप धारण गर्‍यो । संसारमा विपरीतलिङ्गी प्रेमको ‘क्लाइमेक्स’ विवाह नै हो । विवेक र सविता पनि अपवाद हुन सकेनन् । उन्मुक्त प्रेम बिस्तारै विवाह बन्धनमा परिणत भैछाड्यो । कसियो लगनगाँठो । 

विवाहपछि सविताका नाममा केही विशेषण जोडिए । विशेषण मात्र थपिएन जिम्मेवारी पनि थपियो । बन्धनहरू पनि अलि बलिया भएर कस्सिए । सविता छोरीबाट बुहारीमा परिणत भई । पत्नी बनी ऊ । हुन त विवेकमा पनि छोरोमाथि ज्वाइँको विशेषण थपियो, पति बन्यो विवेक पनि । तर विवेकमा बन्धनहरू थपिएनन् । बन्धनहरू सवितामा मात्र थपिए । विवेकले विवाह गरेवापत आफ्नो लवाइ–ख्वाइमा पनि परिवर्तन गर्नुपरेन तर सविताको भने विवाह गरेवापत टाउकोमा सिन्दूर थपियो, गलामा पोते, नारीमा चुरा, शरीरमा पाइन्टको साटो साडी । यी सबै थपियो भन्दा पनि थोपरियो । 

सृष्टिको निरन्तरता । कालान्तरमा उनीहरूबाट दुई सन्तान जन्मिए । वंश थामियो । समाजमा इज्जत धानियो ।

अब विवेकलाई सविताको शरीरप्रति आकर्षण छैन । उसको आकर्षण बालबच्चाको स्याहार–सुसार, घरको हेरविचार, विवेकको चाकरी तथा घरव्यवहारको अन्य काममा घर्षण भएर दिनप्रतिदिन खिइँदै गएको छ । खिइएको सामानमा व्यापारीको आँखा जाँदैन । व्यापारीले खिइएको सामान मिल्काएर झरिला, भरिला एवं पोटिला नयाँ–नयाँ सामान खोज्छ । पुरानामा ओठ लेप्रिन्छ, नयाँ सामानमा आँखा सल्बलाउँछ । जति–जति सविताका शरीरमा बुढ्यौलीका संकेतहरू देखिन्छन्, त्यति–त्यति विवेकको मन बाहिरी संसारमा रमाउन थाल्छ । विवेकलाई घरवालीको संसारभन्दा बाहरवालीको संसार प्यारो लाग्न थालेको छ । व्यापारमा चिनजान भएका नयाँ नयाँ केटिलाई बाइकमा हालेर दिनहुँ बाहिरिन्छ । 

पछिल्लो समय विवेक घरबाहिर बढी समय बिताउँछ । विवेक दिनभर जम्दैछ नयाँ नयाँ केटिसंग । रातभर रम्दैछ डिस्कोमा । दिवा लाइफले भन्दा रात्रि लाइफले विवेकको मन तानिरहेछ । नवयुवतीहरूको नम्बर दिनप्रतिदिन उसको मोबाइलमा भरिँदैछन् । घरकी श्रीमतीलाई शत्रु भनेर चिनाउँछ साथिभाई संग ।  छिनछिनमा नवयुवतीका फोनहरू आइरहन्छन् । सविताका अगाडि ऊ कुनै धक नमानी नवयुवतीहरूसँग जिस्किन्छ फोनमा । कहिलेकाहीँ विवेक २–४ दिन बेपत्तासँग हराउँछ, घरमा खबरै नगरी । कहिले बुवाको बिरामी भएको बहाना गरेर हराउँछ त कहिले ब्यापारीक मिटिङ भन्दै । बुवाको नाममा र ब्यापारको नाममा दिनहुँ झुट बोल्दै भाग्छ विवेक ।  घन्टैपिच्छे नयाँ–नयाँ मानिससँग विवेकको कुरा हुन्छ तर कोसँग कुरा भएको हो सविता त्यति भेउ पाउँदिन । धेरै वास्ता पनि गर्दिन ।

विवेक कहाँ जान्छ, कता जान्छ, सवितालाई थाहा हुँदैन । सविताले सोध्ने अधिकार गुमाइसकेकी छ । पति परमेश्वर कहाँ जान्छन् सविता सोध्ने हैसियत पनि राख्दिन र हिम्मत पनि गर्दिन । हिम्मत गरेर सोधी हाली भने विवेकको प्रगतिको बाधक मानिन्छे । उसमाथि पोथी बासेको आरोप लाग्छ । त्यसैले निरीह छे सविता । सविताको निरीहतामा विवेक मस्त छ । मन लागे घर आउँछ । मन नलागे हप्तौं बाहिरै बसिदिन्छ, बेखबर भएर ।  ‘अझैसम्म भात पाकेको छैन ?’ विवेक कराउँदै भान्सातिर पस्छ ।

‘तयार हुनै लाग्यो ।’ सविता भन्छे । ‘त्यति भात पकाउन पनि कति ढिला गरेको हँ ? मलाई ढिला भैसक्यो ।’ ऊ झनै रिसाउँछ । 

‘म पनि बिहान उठेदेखि एकछिन बसेकी छैन । काम गरेको गर्‍यै छु । बिहानभरि लुगा धोएँ, घर सफा गरें, बच्चाहरूका लागि ब्रेकफास्ट बनाएँ । गर्दागर्दै ढिला भयो ।’ सविता स्पष्टीकरण दिन्छे । 

‘होइन त्यो जाबो २–४ वटा लुगा धुन र २ वटा कोठा सफा गर्न कति टाइम लाग्छ हँ ? के–के न युद्धै लड्न लागेजस्तो ।’ आक्रोशको मात्रा बढ्दै जान्छ विवेकको ।‘एकैछिनमा तयार भैहाल्यो । अब खान तयार भैहाल्नुस् ।’ बिस्तारै भन्छे सविता ।

‘मलाई मिटिङमा जानु छ एकछिन भनेर हुन्छ ? अलिकति कमनसेन्स छैन तेरो ?’ जुत्ताको तुना कस्दै विवेक झन् खरो उत्रन्छ ।‘कहाँ के मिटिङ हो र ? कति बजे पुग्नुपर्ने ? सविता प्रश्न गर्छे ।कहाँ मिटिङ, के मिटिङ, कस्तो मिटिङ, यो सब तँलाई किन चाहियो हँ ? लोग्नेमान्छेको मामिलामा आइमाईले हात हाल्ने होइन भनेर तँलाई कति पटक भनिसकें ?’ विवेक सवितामाथि जाइलाग्न खोज्छ ।‘भैगो नभने नभन्नुस् तर खानाचाहिँ खाएर जानुस्, तयार नै भैसक्यो ।’ सविता विवेकलाई अनुरोध गर्छे । 

‘मेरो त ठीक समयमा सुरु हुने मिटिङ हो । तालनबेताल कुरा गर्छे । अब तेरो भात तैं खा । म हिँडे ।’ विवेक टक्टकिन्छ ।

विवेक हिँड्यो । सविता अवाक् भई । केही बोल्न सकिन । ढोकाबाट बाहिर निस्केर विवेकले आफ्नो कार स्टार्ट गर्‍यो । रिसको झोकमा एकपटक कारको एक्सिलेटर दबाएर घुइँघुइँइँ पार्‍यो । अनि फर्केर कतै नहेरी कार दौडायो । मानौं, कुनै अस्पतालमा इमर्जेन्सीमा मर्न लागेको मानिसको उपचारका लागि दौडँदैछ । 

अलि पर चोकमा विवेककी मनकी नवपरी उसलाई पर्खेर बसेकी थिई । आज फेरि नयाँ केटि खोजेकि थिइ बिबेकले ।  आजकी मिटिङपरी । विवेकले परीका अगाडि कारको ब्रेक थिच्यो । दायाँ साइडको कारको झ्याल खोल्यो । विवेकको नवपरि उसको छेउको सिटमा बसी । 

‘कस्तो ढिला गरेको डार्लिङ ? आधा घन्टाभन्दा बढी कुरें । खुट्टै दुखिसक्यो भन्या ।’ मिटिङपरीले हल्का गुनासो गरी ।‘नरिसाऊ न प्रिया । घरमा बूढीले आज अलि र्‍याक गर्दी क्या ।’ विवेक नम्र देखियो ।

‘भैगो, भैगो । धेरै स्पष्टीकरण दिइरहनु पर्दैन । तिम्री त्यो अधिकारकर्मी भनाउँदी थोत्री बूढीलाई मैले राम्रोसँग चिनेकी छु । ल हिँड अब ।’ परीले अलिअलि घुर्कीसहितको भाषामा भनी ।

विवेकले एस्लिेटर दवायो । कार अझ रफ्तारमा हुइँकियो । टाढा, कतै टाढा, झनै टाढा …… । 

यता काममा व्यस्त छे सविता । उसलाई राम्रोसँग बोल्ने फुर्सद पनि छैन । टिनीनीनीनी….. टिनीनीनीनी….. टिनिनीनी…… । सविताको मोबाइलमा घन्टी बज्यो । ३–४ घन्टी बजेपछि काम थाती राखेर मोबाइल उठाएर स्क्रिनमा हेरी । विवेकको नम्बर देखा पर्‍यो । ‘हल्लो’ सबिताले भनी ।

 ‘फोन उठाउन किन ढिला ? तँ कहाँ कोसँग हो ?’ विवेकले एकै श्वासमा सिध्यायो

 ‘कहाँ कोसँग हुनु म, घरमै काममा व्यस्त छु। ’

‘किन यति ढिला उठाएको त मोबाइल । कतै तँ तिनै क्याम्पस पढ्ने बेलाका तँलाई मन पराउने केटाहरूको साथमा त छैनस् ?’

सविता केही बोल्दिन । बोल्ने कुरा भए पो बोल्नु । भएको कुरा सुन्ने भए पो स्पष्टीकरण दिनु । सुनिरहन्छे सविता ।‘अँ, सुन । आजकल तँ समयमा मेरो फोन उठाउन्नस, मोबाइलमा झुन्डिरहन्छेस । यस्तो मान्छेलाई के भन्छन् थाहा छ ? चरित्रहीन भन्छन् चरित्रहीन ।  चरित्रहीन काम गर्ने होइन राम्रोसँग बुझिस् नि ?’सवितासँग यसको कुनै उत्तर छैन । त्यसैले सविता केही बोलिन । शब्दविहीन सुनिरही । उताबाट विवेक फत्फताइरह्यो । विवेकको पाश्र्वमा एउटा नारी स्वर सुनियो–‘ह्या कस्तो तिमी पनि । के थोत्री बूढीसँग कुरा गरिरहेको म यहाँ हुँदाहुँदै । हलुवामा बालुवा नमिसाऊ त विवेक । तिम्री थोत्री बूढीलाई कसले लान्छ यार ।’ 

‘हो नि मेरी हलुवा, तर के गर्नु बालुवालाई पनि ठेगानमा त राख्नुपर्‍यो नि । डन्ट माइन्ड माई स्वीटहार्ट डार्लिङ ।’ विवेकले मिटिङपरीको गाला चिमोट्यो । मिटिङपरी दङ्ग परी ।‘इन्ज्वेय योर सेल्फ विथ मि माई डियर विवेक ।’ मिटिङपरी लाडे पल्टदै विवेकको काखमा सुती ।विवेक र परीका रासलीलाका यी सब आवाज मोबाइलमा सविताले सुनिरही । सवितालाई असह्य भयो । ऊ मोबाइलको फोन काटेर विक्षिप्त भएर कराई अनि एक्लै बोलि–‘हो विवेक, म चरित्रहीन आइमाई हुँ । किनभने तिमीले महिलाहरू फेरेजस्तो मैले पुरुष फेर्न सकिन । दर्जनौंसँग प्रेमको नाटक गर्दै खेलौना बनाउन सकिन । म पुरुषहरूसँग खेलेर समय कटाउनुको सट्टा पुरुषहरूबाट प्रताडित महिलाहरूलाई पुरुषको हुंकारविरुद्ध आवाज उठाउन अभिप्रेरित गर्छु त्यति गरेर पनि म आफ्नो घर–व्यवहार र बालबच्चा धानिरहेकी छु र तिमीलाई परमेश्वर मानेर बसिरहेकी छु । यति गर्ने मानिस चरित्रहीन नभएर को हुन्छ ? हो विवेक, म संसारकै सबैभन्दा ठूलो चरित्रहीन महिला हुँ …..।’ सविता कराइरही, कराइरही ।

सविताको आवाज कोठाभरि गुञ्जियो, तर बाहिर कतै निस्किएन । सडकमा मोटरहरू गुडिरहेका छन्, मानिसहरू हिँडिरहेका छन् । चन्द्र, सूर्य र पृथ्वीको गतिमा कुनै परिवर्तन आएको छैन । मानौं, यो धर्तीमा केही भएको छैन । सविता नि:शब्द छे । विवेकको मिटिङ चलिरहेको छ । 

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

त्रिदेशीय टी–२० शृङ्खला: नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो, शीर्ष स्थानमा उक्लियो

त्रिदेशीय टी–२० शृङ्खला: नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो, शीर्ष स्थानमा उक्लियो

स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० शृङ्खलामा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ। १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा...
सुदूरपश्चिमदेखि गण्डकीसम्म भारी वर्षा, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिमदेखि गण्डकीसम्म भारी वर्षा, सतर्कता अपनाउन आग्रह

देशको पश्चिमी क्षेत्रमा अहिले व्यापक वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण...
दुबईक्षेत्रीय समितीको अध्यक्षमा अशोक बोगटी

दुबईक्षेत्रीय समितीको अध्यक्षमा अशोक बोगटी

। सुदूरपश्चिमेली नेपाली समाज यूएईको दुबईक्षेत्रीय समितिको अध्यक्षमा अशोक बोगटी सर्वसम्मत चयन भएका छन् । सुदूरपश्चिमेली नेपाली समाज...
समान व्यवहार परियोजनाले फेरिदियो गीताको जिन्दगी

समान व्यवहार परियोजनाले फेरिदियो गीताको जिन्दगी

धुर्ब बिष्ट बझाङ- कुनै समय आफ्नै जीवनलाई अन्त्य गर्ने निर्णयमा पुगिसकेकी बझाङको बुङ्गल नगरपालिका–११, धारघरकी गीता देवी बोहरा आज हा...
डडेल्धुरामा व्यवसायीको शंकास्पद मृत्युपछि चक्का जाम,

डडेल्धुरामा व्यवसायीको शंकास्पद मृत्युपछि चक्का जाम,

डडेल्धुरा — डडेल्धुराका २८ वर्षीय व्यवसायी हरिसिंह पालीको शंकास्पद मृत्युपछि डडेल्धुराको स्याउले बजारमा चक्का जाम गरिएको छ। सुदूरप...
देशभर बदली, चट्याङसहित वर्षा र केही ठाउँमा भारी वर्षाको सम्भावना

देशभर बदली, चट्याङसहित वर्षा र केही ठाउँमा भारी वर्षाको सम्भावना

हाल देशका अधिकांश भागमा मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभावले आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसा...
ट्रम्पको सुझाव : खोमिनीले विना शर्त आत्मसमर्पण गर्नुपर्छ’

ट्रम्पको सुझाव : खोमिनीले विना शर्त आत्मसमर्पण गर्नुपर्छ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतुल्लाह  खोमिनीलाई विना शर्त आत्मसमर्पण गर्न सुझाव दिएका छन्। ट्रम्प...
त्रिकोणात्मक टी–२० मा नेपाल चम्कियो, स्कटल्याण्ड ढल्यो

त्रिकोणात्मक टी–२० मा नेपाल चम्कियो, स्कटल्याण्ड ढल्यो

नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा पहिलो जित दर्ता गरेको छ। मंगलबार भएको खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज