रुसी आक्रमणमा युक्रेनी शहर सुमीमा ३४ जनाको मृत्यु, १५ बालबालिकासहित ११७ घाइते
काठमाडौं- युक्रेनी शहर सुमीमा भएको रुसी आक्रमणमा ३४ जनाले ज्यान गुमाएका छन् भने १५ बालबालिकासहित ११७ जना घाइते भएका छन्। युक्रेनको राज्य आपतकालीन सेवाले उक्त जानकारी दिएको हो।
बीबीसीका अनुसार आक्रमण त्यतिबेला भयो जब सर्वसाधारण चर्चमा भेला भएका थिए।
अमेरिकाका युक्रेनका लागि विशेष दूत किथ केलाँगले उक्त आक्रमणलाई ‘सीमाभन्दा परको कार्य’ भन्दै आलोचना गर्नुभएको छ। उहाँले रुसको निरन्तर आक्रमणले युक्रेनलाई ठूलो जनधनको क्षति पुर्याएको बताउँदै युद्ध अन्त्यका लागि अमेरिका मध्यस्थकर्ताको भूमिकामा रहेको उल्लेख गर्नुभयो।
आक्रमणपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल ‘एक्स’ मा प्रतिक्रिया दिँदै रूसले "भयानक आक्रमण" गरेको उल्लेख गर्नुभएको छ। उहाँले विश्व समुदाय अब चुप लागेर बस्न नहुने र रूसमाथि दबाब सृजना गरी युद्ध अन्त्यतर्फ लैजानुपर्ने माग गर्नुभएको छ।...












