धनगढी– छ अर्ब ५८ करोड रुपैयाँ खर्चिएर तयार गरिएको कैलालीको गेटा मेडिकल कलेज अझै सञ्चालनमा आउन सकेको छैन। सरकारी बेवास्ता, नीतिगत अन्योल र राजनीतिक दाउपेचका कारण कलेज अन्योलमा परेको हो।
२०७३ सालमा सुरु गरिएको कलेजको संरचना ५१ हेक्टरमा फैलिएको छ, जसमा ६ सय शय्याको अस्पताल र ४२ वटा अन्य भवन तयार अवस्थामा छन्। एमबिबिएस पढाइको लागि आवश्यक फर्निसिङसमेत पूरा भइसकेको छ।
तर, अहिलेसम्म तीन जना प्रमुख फेरिइसकेका छन् र ६३ जना करार तथा ज्यालादारी कर्मचारी पुसदेखि तलबविहीन अवस्थामा काम गरिरहेका छन्। अस्थायी दरबन्दी स्वीकृत नहुनु र मन्त्रालयबीचको समन्वय अभावले सेवा विस्तार गर्न नसकिएको हो।
२०८० असारमा सरकारले १०० शय्याको अस्पताल सञ्चालन गर्ने निर्णय गरे पनि स्वास्थ्य मन्त्रालयले ५० शय्याको मात्र अस्थायी स्वीकृति दिएको छ। अस्पताल भने स्वास्थ्य मन्त्रालय मातहत सञ्चालनमा आइसकेको छ, तर अन्य संरचना अझै शिक्षा मन्त्रालय अन्तर्गत छन्।
पूर्वाधार विकास समिति अन्तर्गतको कार्यालय प्रमुख सेवानिवृत्त भएपछि हाल एक जना मात्र इन्जिनियरले भवनको रेखदेख गरिरहेका छन्। लामो समयदेखि प्रयोगविहीन रहेको कलेजको निरीक्षण हालका प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मले गरिसकेका छन्।
केही दिनअघि कैलाली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्षभित्रै कलेज सञ्चालन हुने गरी प्रक्रिया अघि बढेको बताएका छन्। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा सञ्चालन गर्न तयार पारिएको विधेयक प्रतिनिधि सभामा विचाराधीन अवस्थामा छ।

