बैतडी– शनिबार अपराह्न परेको असिनापानीले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा अन्नबाली, तरकारी र फलफूलमा ठूलो क्षति पुर्याएको छ।
बैतडीको दोगडाकेदार, सिगास, सुर्नया गाउँपालिका र पाटन नगरपालिकासहितका क्षेत्रहरूमा पाक्न लागेको गहुँ, तरकारी तथा फलफूलमा क्षति पुगेको किसानहरूले बताएका छन्।
सिगास–९ का किसान रामबहादुर चन्दले गहुँ भित्र्याउने तयारीमा असिना परेको भन्दै “सबै खेतबारी सेताम्मे भएका छन्,” भने। सित्तडका दलबहादुर कार्कीका अनुसार गहुँबाहेक आलु, प्याज, लसुन, खुर्सानी, बन्दा, काउली र टमाटरका बेर्नामा पनि क्षति पुगेको छ।
“पाक्न थालेका बाली नष्ट भएपछि उत्पादन घट्ने निश्चित छ,” कार्कीले भने, “किसानहरू चिन्तित छन्।”
कृषि ज्ञान केन्द्रले आधिकारिक विवरण आउन बाँकी भए पनि अन्नबाली र तरकारीमा क्षति भएको पुष्टि गरेको छ।

