चितवन, ११ कात्तिक। इनर व्हिल क्लब अफ बुद्धनगर (क्यान्सर सर्वाइभर्स समूह) ले नेपालमै पहिलोपटक स्तन क्यान्सरबाट बचेका महिलाहरूका लागि ‘प्याडेड ब्रा सपोर्ट कार्यक्रम’ सम्पन्न गरेको छ।
“Live With Dignity (आत्मसम्मानका साथ बाँचौं)” भन्ने नारासहित आयोजित सो कार्यक्रम नारायणी सामुदायिक अस्पताल, भरतपुरमा सम्पन्न भएको हो।
कार्यक्रमको उद्देश्य स्तन क्यान्सर सर्जरीपछि शरीरमा हुने शारीरिक परिवर्तनका कारण घट्ने आत्मविश्वास पुनःस्थापना गरी महिलाहरूलाई मानसिक रूपमा सशक्त बनाउनु रहेको क्लबले जनाएको छ।
क्लबकी अध्यक्ष नानीमाया तामाङका अनुसार, तीन वर्षअघि स्थापना भएको क्लबले पुनःस्थापनासम्बन्धी सहयोग र सचेतनामूलक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ। संस्थापक अध्यक्ष तारा अमात्यले पनि क्यान्सरपछिको जीवनशैली र व्यवहारबारे सचेतना फैलाउने अभियानलाई निरन्तरता दिइरहेको बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ शल्य चिकित्सक डा. भक्तमान श्रेष्ठले व्यक्तिगत तर्फबाट क्लबलाई रु १ लाख सहयोग गर्नुभयो। त्यस्तै, नारायणी सामुदायिक अस्पतालले रु १ लाख ५० हजार सहयोग गरेको छ।

डा. श्रेष्ठले २०५३ सालमा पहिलो पटक स्तन शल्यक्रिया (ब्रेस्ट अपरेशन) गरेको सम्झना गर्दै भन्नुभयो,
“परिवार र समाजको माया र हौसला भए, रोगसँग लड्न सकिन्छ, र लामो आयु बाँच्न पनि सम्भव हुन्छ।”
उहाँले अहिलेसम्म २,७०० भन्दा बढी महिलाको स्तन क्यान्सर अपरेशन गर्नुभएको जानकारी दिनुभयो।
कार्यक्रममा सहभागी क्यान्सर सर्वाइभरहरूले पनि सहयोगका हात बढाएका थिए। एक सर्वाइभरले रु २१ हजार सहयोग गर्दै सकारात्मक सोच र आत्मविश्वासले जीवनमा नयाँ उत्साह ल्याउने सन्देश दिइन्।
त्यस्तै, गैडाकोटकी देवी कुमारी आचार्यले क्यान्सरसँगै अन्य स्वास्थ्य समस्या (कोलेस्ट्रोल, प्रेसर, थाइराइड) भए पनि स्वस्थ खानपान, सकारात्मक सोच र खुसी मनले जीवन सहज बनाएको अनुभव बाँड्नुभयो।
क्लबकी सचिव तथा स्तन क्यान्सर सर्वाइभर बबि शाक्यको कथा कार्यक्रमको विशेष आकर्षण बन्यो। करिब २९ वर्षअघि डा. भक्तमान श्रेष्ठले उहाँको पहिलो स्तन शल्यक्रिया गर्नुभएको थियो। पछि अर्को स्तनमा पुनः क्यान्सर देखा परे पनि निरन्तर उपचारपछि अहिले उहाँ पूर्ण रूपमा निको भइ स्वस्थ जीवन बाँचिरहनुभएको छ।
उहाँका अनुसार,
“आर्टिफिसियल ब्रेस्ट वा प्याडेड ब्रा उपलब्ध गराउनु क्लबको प्रमुख उद्देश्य हो।”
कार्यक्रममा १८ जना स्तन क्यान्सर सर्वाइभर सहभागी भएका थिए, जसमा अधिकांशको उपचार डा. भक्तमान श्रेष्ठले गर्नुभएको थियो।
आयोजक क्लबका अनुसार, यो कार्यक्रमले स्तन क्यान्सरबाट बचेका महिलाहरूमा आत्मसम्मान र आत्मविश्वास जगाउँदै समाजमा क्यान्सरप्रतिको डर र गलत धारणा तोड्ने सन्देश दिएको छ —
“क्यान्सर अन्त्य होइन, नयाँ जीवनको सुरुवात हो।”

