नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को पदाधिकारी र सदस्यका लागि कुल ५०० जनाको उम्मेदवारी परेको छ।
माघ १२ गते हुने चुनावका लागि सार्वजनिक गरिएको मनोनयन दर्ताको प्रारम्भिक सूचिअनुसार ३३ पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्य गरी कुल ३१२ पदका लागि ५०० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ।
अध्यक्षका लागि ६ जनाले उम्मेदवारी दिएका छन्।
उपदेश यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश सापकोटा, विश्वमणि थापा र योगेन्द्रबहादु बुढाले अध्यक्षमा उम्मेदवारी दिएका छन्।
माओवादीको केन्द्रीय नेतृत्वले अखिल क्रान्तिकारीको नेतृत्व सर्वसम्मत टुंग्याउन खोजेपनि सहमति नजुटेपछ प्रतिस्पर्धाबाटै टुंगिने भएको हो।
केन्द्रीय नेतृत्वले हेडक्वार्टबाट कुनैपनि नेताले कुनै उम्मेदवारको पक्ष नलिने भनेपनि अध्यक्षका सबै उम्मेदवारलाई एक न एक पदाधिकारीको समर्थन छ। तीमध्ये केहीले प्यानल नै बनाएका छन्।
उपदेश यादव माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट हुन्। विजय सापकोटा उपमहासचिव शक्ति बस्नेत, सुदिन पौडेल वर्षमान पुन र हेमन्त राई जनार्दन शर्मा निकटका हुन्।
योगेन्द्र बुढालाई उपाध्यक्ष कृष्णबहादुर महरा र विश्वमणि थापालाई उपाध्यक्ष पम्फा भूसालको समर्थन छ।
एक जना महासचिब पदका लागि १० जनाको उम्मेदवारी परेको छ।
पदमप्रसाद काफ्ले, प्रतिक कार्की, श्यामबहादुर मिजार, रोशन थापामगर, रोशन खड्का, गोबिन्द बानिया, सञ्जिब फुयाल, तिर्सना हमाल, शिव बस्नेत र सञ्जयकुमार महतो महासचिब उम्मेदवार हुन्।
९ जना उपाध्यक्षका लागि ४४ जनाको उम्मेदवारी परेको छ। ९ जना उपमहासचिवका लागि ३८ जना र १२ जना सचिवका लागि ६२ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ।
अखिल (क्रान्तिकारी)मा ४८ सदस्यीय सचिवालय, १६२ जना केन्द्रीय सदस्य, अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग रहन्छ।
तीनवटा आयोगमा एक अध्यक्ष, ३ उपाध्यक्ष र ३ सचिव रहन्छन्।
ती सबै पदहरूमा कुल ५०० जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ।
प्रारम्भिक सूचीमा दाबी विरोधको समय बिहीबार बिहान ९ बजेसम्म राखिएको छ। त्यसपछि सूची सार्वजनिक गरी मनोनयन फिर्ताको समय तोकिनेछ।
अन्तिम नामावली प्रकाशन भएपछि शनिबार मतदान हुनेछ।

