बझाङ- नेपाल पत्रकार महासंघ बझाङ शाखाले पत्रकारले सार्वजनिक सरोकारका विषयमा समाचार सम्प्रेषण गरेकै आधारमा व्यक्तिगत आक्षेप लगाउने, चरित्रहत्या गर्ने तथा सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघ बझाङ शाखाले प्रेस विज्ञप्ति जारी गर्दै साइपाल खबर डटकममा २०८३ असार ३१ गते प्रकाशित ‘शतारात १० लाखको भत्ता काण्ड’ शीर्षकको समाचार प्रकाशित भएपछि जयपृथ्वी नगरपालिकामा कार्यरत आन्तरिक लेखा परीक्षक लालबहादुर खातीले उक्त अनलाइनका प्रकाशक तथा सम्पादक भवनबहादुर सिंहलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत व्यक्तिगत चरित्रहत्या, मानमर्दन तथा भ्रम सिर्जना गर्ने प्रकृतिका अभिव्यक्ति सार्वजनिक गरेको जनाएको छ।
महासंघले प्रकाशित समाचारप्रति कुनै असहमति वा गुनासो भए त्यसको समाधानका लागि कानुनी तथा संस्थागत प्रक्रिया अवलम्बन गर्नुपर्नेमा सामाजिक सञ्जालमार्फत पत्रकारमाथि व्यक्तिगत आक्षेप लगाउने, चरित्रहत्या गर्ने तथा धम्कीपूर्ण वा भ्रम फैलाउने गतिविधि गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गर्न महासंघ बझाङ शाखाले सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।
साथै, सबै सञ्चारकर्मीले निर्भीक, जिम्मेवार र व्यावसायिक पत्रकारिता गर्न पाउने वातावरण सुनिश्चित गर्न तथा यस्ता गतिविधि दोहोरिन नदिन सम्बन्धित सबै पक्षलाई जिम्मेवार बन्न महासंघले आग्रह गरेको छ।
महासंघ बझाङ शाखाका अध्यक्ष ललितबहादुर सिंहद्वारा जारी विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै पत्रकारमाथि हुने कुनै पनि प्रकारका आक्रमण, दबाब र चरित्रहत्या विरुद्ध संस्थागत रूपमा आवाज उठाइने उल्लेख गरिएको छ।


