डडेलधुराको परशुराम नगरपालिका- ११ स्थित पलगडी गाउँ आज पनि विकासको मूल प्रवाहबाट टाढै छ। कञ्चनपुरसँग सीमा जोडिएको चुरे क्षेत्रको विकट पहाडी भूभागमा रहेको यस गाउँमा सडक, विद्युत्, स्वास्थ्य सेवा, खानेपानी र गुणस्तरीय शिक्षाजस्ता आधारभूत सुविधा अझै पुग्न सकेका छैनन्।
करिब ५० परिवार बसोबास गर्ने पलगडी गाउँसम्म अहिले पनि मोटरबाटो पुगेको छैन। स्थानीयहरू झलारी बजारबाट गाउँ पुग्न करिब छ घण्टा पैदल हिँड्न बाध्य छन्। वर्षायाममा पहिरो, हिलो र बाढीका कारण यात्रा अझ जोखिमपूर्ण बन्ने गरेको छ।
गाउँमा कोही बिरामी परे एम्बुलेन्स पुग्ने अवस्था छैन। बिरामीलाई डोको वा पिठ्युँमा बोकेर छ घण्टासम्म पैदल हिँडेर झलारी वा अन्य स्वास्थ्य संस्थासम्म पुर्याउनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्।
शिक्षाको अवस्था पनि उस्तै चुनौतीपूर्ण छ। गाउँमा कक्षा ५ सम्म मात्रै पढाइ हुने विद्यालय भएकाले माध्यमिक शिक्षा अध्ययन गर्न विद्यार्थीले दैनिक चार घण्टासम्म पैदल यात्रा गर्नुपर्छ। लामो दूरी, वर्षायामको जोखिम र आर्थिक अभावका कारण धेरै बालबालिकाले बीचमै पढाइ छाड्ने गरेका छन्।
गाउँमा स्वास्थ्य चौकीसमेत छैन। सामान्य बिरामी हुँदा स्थानीयहरू घरेलु उपचार वा झारफुकमै भर पर्नुपर्ने अवस्था छ। दैनिक उपभोगका सामग्री किन्न पनि कञ्चनपुरको झलारी बजार पुग्नुपर्छ भने खाद्यान्न, औषधि र अन्य सामान पिठ्युँमा बोकेर गाउँ ल्याउनुपर्ने बाध्यता छ।
धारापानी खोलामा पुल नहुँदा हरेक वर्ष स्थानीयले जोखिम मोलेर खोला तर्नुपर्ने अवस्था छ। तीन वर्षअघि गाउँकै एक स्थानीय खोला तर्ने क्रममा बगेर ज्यान गुमाएको घटना अझै स्थानीयको स्मृतिमा ताजै छ।
पलगडीमा विद्युत् सेवा पनि पुगेको छैन। स्थानीयले आफ्नै श्रमले विद्युत्का खम्बा गाउँसम्म पुर्याए पनि खम्बा गाड्ने र तार तान्ने काम अझै सम्पन्न भएको छैन। सञ्चार सेवा पनि कमजोर भएकाले मोबाइल नेटवर्क कहिलेकाहीँ मात्रै लाग्ने गर्छ।
यहाँका अधिकांश परिवार कृषि र बाख्रापालनमा निर्भर छन्। सडक नहुँदा स्थानीय उत्पादन बजारसम्म पुर्याउनसमेत समस्या हुने गरेको छ भने धेरै युवा रोजगारीका लागि भारत तथा अन्य स्थानमा मजदुरी गर्न बाध्य छन्।
स्थानीयले वर्षौंदेखि सडक, पुल, स्वास्थ्य चौकी, माध्यमिक विद्यालय र विद्युत् विस्तारको माग गर्दै आए पनि उल्लेखनीय प्रगति हुन सकेको छैन। विकासको उज्यालोबाट टाढा रहेको पलगडी गाउँ आज पनि आधारभूत सेवासुविधाको प्रतीक्षामै छ।
रासस

