बझाङः आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बझाङको राजनीतिक माहोल नयाँ मोडमा देखिन थालेको छ। वर्षौँदेखि एउटै राजनीतिक ध्रुवमा घुमिरहेको जिल्लाको मतदातामा यसपटक परिवर्तनको चाहना स्पष्ट देखिन्छ । विशेषगरी पुराना दलहरूप्रति असन्तुष्टि व्यक्त गर्दै केही मतदाता नयाँ शक्तितर्फ आकर्षित भइरहेको विश्लेषण गरिएको छ ।
यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका शैलेस सिंह यतिबेला चर्चाको केन्द्रमा छन् । सामाजिक सञ्जालमार्फत सक्रिय रूपमा आफ्ना धारणा राख्दै आएका सिंहले आफू सामान्य परिवारबाट संघर्ष गर्दै व्यवसाय क्षेत्रमा स्थापित भएको, इमान्दार कमाइबाट सम्पत्ति आर्जन गरेको र शिक्षासँगै विभिन्न क्षेत्रमा लगानी गरी युवालाई रोजगारी सिर्जना गरेको दाबी गर्दै आएका छन् ।
सिंहले आफ्नो शिक्षण संस्था र व्यवसायमार्फत सयौँलाई रोजगारी दिएको तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको बताउँदै आएका छन् । उनी आफूलाई “पुराना राजनीतिक संरचनाभन्दा फरक सोच र अभ्यास बोकेको प्रतिनिधि” का रूपमा प्रस्तुत गर्न खोजिरहेका छन् । यही कारणले विशेषगरी युवा पुस्ता र विदेशबाट फर्किएका केही मतदाता समूहमा उनको पक्षमा सकारात्मक चासो देखिएको स्थानीयहरू बताउँछन् ।
यसैबीच, परम्परागत दलहरूप्रति बढ्दो असन्तुष्टि पनि नयाँ शक्तिको आकर्षण बढ्नुको एक कारण मानिएको छ । विगतका चुनावी प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन नभएको, विकास निर्माणमा अपेक्षित परिणाम नदेखिएको र आन्तरिक गुटबन्दीले राजनीतिलाई कमजोर बनाएको भन्ने गुनासो केही मतदातामा सुन्न सकिन्छ । यही पृष्ठभूमिमा वैकल्पिक शक्ति खोज्ने मनोविज्ञान बलियो बन्दै गएको देखिन्छ । पार्टीको परम्परागत आधारभन्दा बाहिर गएर व्यक्तिको विश्वसनीयता र दृष्टिकोणलाई मूल्यांकन गर्ने प्रवृत्ति बढ्दो छ ।
आगामी निर्वाचनले बझाङमा नयाँ राजनीतिक सन्तुलन निर्माण गर्ने वा पुरानै समीकरणलाई निरन्तरता दिने भन्ने विषय मतदाताको निर्णयमा निर्भर रहनेछ । नयाँ शक्ति र पुराना दलबीचको प्रतिस्पर्धाले यसपटकको चुनावलाई अझ रोचक र अर्थपूर्ण बनाएको छ ।

