काठमाण्डौ- छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ। हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालुहरूले रातभर जाग्राम बसेर आज बिहान सप्तमीका दिन उदाउँदो सूर्यलाई पूजा गरी अर्घ्य दिएपछि यो पर्वको समापन हुँदैछ।
यस अवसरमा देशभरका नदी, पोखरी र जलाशयका किनारमा व्रतालुहरूको घुईंचो लागेको छ। कात्तिक शुक्ल षष्ठीका दिन हिजो निराहार व्रत बसेका व्रतालुहरूले अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएका थिए।
छठ पर्वको अवसरमा तराई–मधेशसँगै काठमाण्डौ उपत्यका तथा देशका अन्य स्थानका नदी, पोखरी र जलाशयहरूलाई आकर्षक रूपमा सिँगारिएको छ। हिजो देशभर सार्वजनिक बिदा दिइएको थियो भने मधेश प्रदेशमा आज पनि सार्वजनिक बिदा दिइएको छ।

