हुम्ला, अदानचुली — कर्णाली प्रदेशको अति दुर्गम जिल्लामध्ये एक हुम्ला, जहाँ विकासका आधारभूत सुविधाहरू पुर्याउन अझै पनि चुनौतीपूर्ण मानिन्छ। यस्तै भूगोलमा अवस्थित अदानचुली गाउँपालिकामा पछिल्लो समय विकासका संकेतहरू देखिन थालेका छन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित मोहन बिक्रम सिंह गाउँपालिका अध्यक्ष बनेसँगै यहाँ विकासको ढोका खुलेको स्थानीयवासीहरूको भनाइ छ। अध्यक्ष सिंह हाल नेपाली कांग्रेस हुम्ला जिल्ला सभापतिसमेत रहेका छन्। ठुलो पार्टीको नेतृत्वकर्ता भएका कारण पनि संघीय र प्रदेश सरकारसँग समन्वय गर्न सजिलो भएकाले विकास कार्यमा तीव्रता आएको बताइन्छ।
अदानचुली गाउँपालिकामा हाल ६ वटा वडा रहेका छन्। तीमध्ये पाँच वडामा सडक सञ्जाल पुगिसकेको छ भने बाँकी एक वडामा पनि छिट्टै सडक पुग्ने तयारी भइरहेको छ। अध्यक्ष सिंहको पहलमा करिब १० किलोमिटर कर्णाली करिडोर मुख्य सडक खण्डदेखि अदानचुलीसम्मको ग्रामीण सडक खण्ड कालोपत्रे गर्न लागिएको छ।
आधारभूत सुविधामा सुधार
स्थानीयवासी रमेश बुढाका अनुसार, अतीतमा खानेपानीको चरम समस्या रहेको वडा नं. १ र २ मा पनि अहिले सहज रुपमा खानेपानी आपूर्ति सुरु भएको छ। यससँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत उल्लेखनीय सुधार भएको पाइएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप भण्डारीका अनुसार, गुणस्तरीय शिक्षा आजको आवश्यकता भएकाले त्यसतर्फ पनि योजनाबद्ध रूपमा अघि बढिरहेको छ। विद्यालयहरूमा पूर्वाधार सुधार, जनशक्ति व्यवस्थापन र सिकाइ वातावरण सुदृढ बनाउने कार्यहरू जारी छन्।
अन्तर्राष्ट्रिय सहयोग
अध्यक्ष सिंहको पहलमा चीन सरकारबाट अदानचुली गाउँपालिकालाई एम्बुलेन्स र डोजर प्रदान गर्न लागिएको छ। यसले आपतकालीन सेवा तथा भौतिक पूर्वाधार निर्माणमा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ।
समयको गतिसँगै अदानचुलीले आफ्नो विकासको दिशा पक्रिन थालेको देखिन्छ। स्थानीय सरकारको इच्छाशक्ति, प्रभावकारी नेतृत्व र समन्वय क्षमताले कर्णालीको दुर्गम भेगमा समेत समृद्धिको आशा पलाउन थालेको छ।

