उत्तमकुमार थापा | चैनपुर, बझाङ
बझाङ जिल्लाको सदरमुकाम चैनपुरस्थित भोपुरमा डिभिजन वन कार्यालय बझाङको आयोजनामा वन डढेलो सम्बन्धि अभ्यास कार्यक्रम सम्पन्न भएको छ। उक्त अभ्यास कार्यक्रमले आगलागी नियन्त्रण र विपद् व्यवस्थापनमा स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवालाको सक्रिय सहभागिता सुनिश्चित गरेको छ।
कार्यक्रमको अवसरमा आगलागीबाट हुने संभावित क्षतिलाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा व्यावहारिक प्रशिक्षण, डेमो प्रदर्शन र छलफल गरिएको थियो। एम्बुलेन्सको प्रयोगमार्फत घाइतेको उद्धार र जिल्ला अस्पतालसम्म पुर्याउने अभ्यास पनि गरिएको थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठी, डिभिजन वन कार्यालय बझाङका प्रमुख शम्भु तिवारी, सुरक्षा निकायका प्रमुख, सत्यवादी माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र जोशी लगायत स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रमुख जिल्ला अधिकारी ठकुराठीले बझाङ उच्च जोखिमयुक्त जिल्ला भएकाले सबै नागरिकलाई सतर्क रहन र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहन अनुरोध गर्नुभयो। साथै, डिभिजन वन कार्यालय प्रमुख तिवारीले बाढी, पहिरो तथा डढेलो जस्ता विपद् व्यवस्थापनमा सबैले सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रम सहयोगी वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।


