काठमाडौं— जल तथा मौसम पूर्वानुमान महाशाखाले देशमा हाल स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहँदा बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । ती क्षेत्रका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने अनुमान गरिएको छ ।
आज राति पनि यिनै प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य स्थानहरूमा मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखाले मेघगर्जन, चट्याङ, वर्षा र हिमपातसँगै गर्मीको प्रभावले कृषि, जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज सूर्योदय बिहान ५:३० बजे भएको हो भने सूर्यास्त साँझ ६:३४ बजे हुनेछ ।

