चैनपुर- बझाङमा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ पहिलोपटक राष्ट्रिय स्तरको भलिबल रेफ्री क्याण्डिडेट तालिम सुरु गरिएको छ।
नेपाल भलिबल संघद्वारा आयोजित तथा जिल्ला खेलकुद विकास समिति, बझाङको व्यवस्थापनमा सञ्चालित यो तालिमको उद्घाटन आज सदरमुकाम चैनपुरस्थित जिल्ला समन्वय समितिको सभाहलमा गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बोहरा थिए भने विशिष्ट अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठी, नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष हर्कसिंह धामी, अन्तर्राष्ट्रिय रेफ्री तथा प्रशिक्षक टहलसिंह थापा, सशस्त्र प्रहरी बल बझाङका डिएसपी दुर्गादत्त भट्टलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुष्पलाल रोकायाका अनुसार, तालिममा १८ वर्षमाथिका इच्छुकहरूले सहभागी हुन पाउने छन्। कार्यक्रमबाट ३० जना राष्ट्रिय स्तरका रेफ्री छनोट गरिनेछ भने प्रदेश र जिल्ला स्तरमा समेत नयाँ रेफ्री उत्पादन गरिनेछ।
७ दिनसम्म सञ्चालन हुने तालिम वैशाख ६ गतेदेखि १३ गतेसम्म चल्नेछ। सहभागीहरूलाई विभिन्न समूहमा बाँडेर नियम, विधि र व्यवहारिक अभ्यासका आधारमा प्रशिक्षण दिइनेछ।
अध्यक्ष रोकायाको विशेष पहल र समर्पणका कारण यो तालिम जस्तो दुर्गम जिल्लामा सम्भव भएको हो। उनले बझाङबाट दक्ष रेफ्री उत्पादन गर्नु ठूलो उपलब्धि भएको बताए।
नेपाल भलिबल संघका उपाध्यक्ष धामीले तालिम सफल बनाउन प्रशिक्षार्थीहरूको सक्रियता आवश्यक रहेको बताए।
यो तालिम बझाङको खेलकुद इतिहासमा मात्र नभई, सुदूरपश्चिमकै खेलकुद विकासमा प्रेरणादायी कदम भएको बताइएको छ।

