काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमका भाषा हराउँदै जान थालेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
देउडा समाज केन्द्रीय कार्यालयले सोमबार प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको देउडाखेल तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै देउवाले भाषा हराउँदै जानु दुःखद र चिन्ताजनक भएको बताए।
उनले भने, “जुन समाजको भाषा लोप हुन्छ, त्यो समाज कमजोर र विखण्डित बन्छ भन्ने भनाइ छ। हामी अहिले आफ्नै भाषा बोल्न छाड्दै गएका छौं। सबैजना नेपाली मात्र बोल्न थालेका छन्। केही त आफ्ना छोराछोरीसँग नेपाली होइन, सिधै अंग्रेजीमै बोल्न थालेका छन्।”
पूर्वप्रधानमन्त्रीसमेत रहेका डडेल्धुरा निवासी देउवाले संसारभर आफ्ना भाषा जोगाउन विभिन्न संघर्षहरू भइरहेको उल्लेख गर्दै भने, “हामीले पनि सुदूरपश्चिमका भाषा बचाउन प्रयास गर्नैपर्छ। सबैको योगदान जरुरी छ।”
उनले भाषा मात्र नभइ सुदूरपश्चिमको संस्कृति पनि जोगाउन आवश्यक रहेको बताए। साथै, १ वैशाखलाई विशु संक्रान्तिका रूपमा मनाइने सुदूरपश्चिमको सांस्कृतिक महत्वसमेत उनले स्मरण गरे।