काठमाडौं– आपतकालीन उद्धारलाई अझ प्रभावकारी बनाउन चीनले विश्वकै पहिलो अत्याधुनिक मेडिकल ड्रोन सफलतापूर्वक विकास गरेको छ।
यो ड्रोन चीनको हैशेन मेडिकल टेक्नोलोजी कम्पनी लिमिटेडले चीन राज्य पोत निर्माण निगम, चिनियाँ विज्ञान अकादमी र अन्य साझेदार संस्थाहरूको सहकार्यमा तयार गरेको हो।
ड्रोनमा रिमोट भिडियो निगरानीलगायत अत्यावश्यक स्वास्थ्य उपकरणहरू जडान गरिएका छन्। कम्पनीका अध्यक्ष तथा प्रमुख इन्जिनियर हुआङ युहङका अनुसार यो ड्रोन उच्च चिसो तापक्रम र ५,००० मिटर उचाइसम्मका कठिन भूगोलमा पनि प्रभावकारी रूपमा खोज तथा उद्धार कार्य गर्न सक्षम छ।
६०० किलोग्राम तौल भएको यस ड्रोनले ३०० किलोग्रामसम्मको भार बोक्न सक्छ। यसमा स्वचालित उडान प्रणाली र टाढाबाट नियन्त्रण गर्ने सुविधा छ, जसले गर्दा विपद् वा महामारीका बेला उद्धार कार्य छिटो र प्रभावकारी बनाउन मद्दत पुर्याउँछ।
हुआङले भने, “मेडिकल उपकरण, ड्रोन प्रविधि र कृत्रिम बुद्धिमत्ताको संयोजनमार्फत हामीले चीनको स्मार्ट आपतकालीन उद्धार क्षमतामा ठूलो फड्को मारेका छौं।”

