काठमाडौं— शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघ सरकारले बोलाएको वार्तामा सहभागी हुने भएको छ। महासंघका अनुसार भोलि (बिहीबार) वार्ताका लागि सहभागी हुने निर्णय अन्तिम चरणमा पुगेको छ।
महासंघका एक पदाधिकारीका अनुसार हाल को-को वार्तामा सहभागी हुने र कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति तय गर्न बैठक चलिरहेको छ। उनले भने, “शिक्षा सचिवको पत्र आएको छ। अब कसरी वार्तामा जाने भन्नेबारे छलफल गरिरहेका छौं।”
आन्दोलन परिचालन समितिकी संयोजक तथा महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले महासंघ भित्र आन्तरिक छलफल भइरहेको जानकारी दिइन्। शिक्षा मन्त्रालयका एक अधिकारीले पनि शिक्षक महासंघले वार्तामा बस्ने तयारी गरेको पुष्टि गरेका छन्। “भोलि उहाँहरूले वार्तामा सहभागी हुने जानकारी दिनुभएको छ,” ती अधिकारीले भने।
नेपाल शिक्षक महासंघले २० चैतदेखि काठमाडौंमा विभिन्न प्रकारका सांकेतिक आन्दोलन गर्दै आएको छ। बुधबार शिक्षकमन्त्रीसहित सरकारलाई लक्षित गर्दै शिक्षकहरूले हात उठाएर विरोध जनाएका थिए। यसअघि कालो मास्क, सिटी फुकाइ र दिउँसो बत्ती बालेर प्रदर्शन गरेका थिए।
शिक्षकहरूको माग शिक्षासम्बन्धी ऐन छिटोभन्दा छिटो जारी गर्नुपर्नेमा केन्द्रित रहेको छ। अब सरकार र महासंघबीचको भोलिको वार्ताले आन्दोलनको दिशा तय गर्ने विश्वास गरिएको छ।

