काठमाडौँ — भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्सले चेन्नई सुपर किङ्सलाई १८ रनले पराजित गरेको छ।
पन्जाबले दिएको २१९ रनको विशाल लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर २०१ रन मात्र बनाउन सक्यो। चेन्नईका लागि डेभन कनवेले सर्वाधिक ६९ रन बनाए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर २१९ रन बनाएको थियो। ओपनर प्रियान्श आर्याले उत्कृष्ट प्रदर्शन गर्दै १०३ रनको शतक प्रहार गरेका थिए।
यो जितसँगै पन्जाबले चार खेलमा ६ अंक जोड्दै अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ। चेन्नई भने पाँच खेलमा २ अंकसहित नवौं स्थानमा झरेको छ।
पहिलो खेलमा लखनउको रोमाञ्चक जित
आईपीएल अन्तर्गत हिजो सम्पन्न पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सलाई ४ रनले पराजित गरेको छ।
२३९ रनको कठिन लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर २३४ रन मात्र बनाउन सक्यो। लखनउका मिकेल मार्स र निकोलस पुरनले अर्धशतक बनाएर टिमलाई बलियो स्थितिमा पुर्याएका थिए।
लखनउले टस हारेर पहिले ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा २३८ रन बनाएको थियो। पाँच खेलमा ६ अंकसहित लखनउ पाँचौं स्थानमा छ भने कोलकाता पाँच खेलमा ४ अंकसहित छैटौं स्थानमा रहेको छ।
आजको खेल
आईपीएल अन्तर्गत आज बेलुका पौने ८ बजे गुजरात टाइटन्स र राजस्थान रोयल्स आमने-सामने हुँदैछन्।

