धनगढी- कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुका अशोक गौतम विजयी भएका छन्। क्याम्पसले आइतबार सार्वजनिक गरेको नतिजा अनुसार गौतमले ६७० मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी अखिल (क्रान्तिकारी)का गणेश भण्डारीले ४२८ मत प्राप्त गरे। शनिबार सम्पन्न निर्वाचनमा भण्डारी नेतृत्वको प्यानलले अखिल क्रान्तिकारीसहित अन्य तीन विद्यार्थी संगठनको संयुक्त प्यानल बनाएको थियो। उक्त संयुक्त प्यानलविरुद्ध अनेरास्ववियुका गौतम नेपाल विद्यार्थी संघ (नेविसंघ) लगायतको समर्थनमा उम्मेदवार बनेका थिए। त्यस्तै अनेरास्ववियुका यामबहादुर खत्रीले छुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए।
सचिव पदमा नेविसंघका प्रविण भण्डारी ५५५ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी अनेरास्ववियु (एकीकृत समाजवादी निकट) का भुवनराज जैसीले ४९० मत प्राप्त गरे।
त्यस्तै, कोषाध्यक्ष पदमा अनेरास्ववियुका सञ्जीवकुमार चौधरी ५६९ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीकी यालिशा कुमारी कुँवरले ४१६ मत प्राप्त गरिन्।

