बझाङ— बझाङको छबिसपाथिभेरा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत संजय कुमार यादवमाथि कुटपिट गर्ने मुकेश ऐडी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार ऐडीलाई शुक्रबार साँझ करिब ५ बजेको समयमा चैनपुरबाट पक्राउ गरिएको हो। पक्राउपछि उनलाई अहिले जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखिएको छ।
छविसपाथिभेरा गाउँपालिका-२ का स्थानीय समेत रहेका करिब ३०–३१ वर्षीय ऐडीले यादवमाथि बेलले प्रहार गरेका थिए।
प्रशासकीय अधिकृत यादवमाथि शारीरिक आक्रमण भएको सूचना पाएलगत्तै अनुसन्धान सुरु गरिएको र प्रारम्भिक अनुसन्धानपछि घटनामा संलग्न रहेको पुष्टि भएपछि ऐडीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रियाअनुसार आवश्यक कारबाही अघि बढाइने प्रहरीले जनाएको छ। कुटपिटको कारण, घटनाको विस्तृत विवरण तथा अन्य संलग्नता भए/नभएको विषयमा भने अझै खुलाइएको छैन।
प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको घटनाले स्थानीय तहमा शान्ति सुरक्षाको अवस्था र कर्मचारी सुरक्षासम्बन्धी चिन्ता थपिएको छ। स्थानीय प्रशासनले घटनालाई गम्भीर रूपमा लिँदै दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएको छ।
किन कुटिए यादव
छबिसपाथिभेरा गाउँपालिकाले ऐडीको गाडी आफ्नो कार्यालयको काममा प्रयोग गरेको थियोे । शुक्रबार ऐडी सोही आफ्नो गाडी प्रयोग गरेबापतको भुक्तानी लिन भनि कार्यालयमा पुगे । त्यसपछि भुक्तानी नदिएको भन्दै आक्रोश व्यक्त गर्दै यादवमाथि कुटपिट गरेका पाइएको छ। स्थानीयवासीहरूले कुटपिट रोक्ने प्रयास गरे पनि ऐडीले यादवलाई बेलले लगातार प्रहार गरेका थिए। घटनापछि ऐडी फरार भएका थिए ।

