बझाङ, साईपाल –साईपाल गाउँपालिकामा चलिरहेको अन्तरविद्यालय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता पूर्व अध्यक्ष राजेन्द्र धामीको राजनीतिक स्वार्थका कारण विवादास्पद बनेको छ। उनले आफ्नो व्यक्तिगत असन्तुष्टिलाई प्राथमिकता दिँदै धलौन माध्यमिक विद्यालयका विद्यार्थीलाई खेलकुदबाट बाहिरिन बाध्य पारेका छन्।
धलौन र काँडा माध्यमिक विद्यालयका विद्यार्थीबीच ढुंगाले हानेर झगडा भएपछि प्रतियोगिता स्थगित गरिएको थियो। छलफलपछि दुबै विद्यालयका विद्यार्थीलाई खेलबाट निष्कासन गर्ने सहमति बनेर खेल पुनः सञ्चालन भए पनि राजेन्द्र धामीको हस्तक्षेपले त्यो सहमति टिक्न सकेन।
पूर्व अध्यक्ष राजेन्द्र धामीले आफूलाई ढिला आसनग्रहण गराएको भन्दै सार्वजनिक रूपमा गुनासो गर्न थाले। खेल भइरहेको स्थानमा पुगेका धामीले खेलकुद रजिस्टर च्यात्नेदेखि विद्यार्थी, शिक्षक, र अभिभावकलाई धम्की दिनेसम्मका गतिविधि गरे। उनले “म देखाउँछु तिमीहरूलाई” भन्दै धलौनका विद्यार्थीलाई रातारात खेल छोडेर घर फर्किन बाध्य पारे।
यो कदमले धलौन माध्यमिक विद्यालयका विद्यार्थीमात्र होइन, प्रतियोगितामा सहभागी अन्य विद्यालयका विद्यार्थी र शिक्षकहरूमा पनि गहिरो असन्तोष फैलाएको छ। “खेलकुद विद्यार्थीको अधिकार हो। पूर्व अध्यक्ष जस्तो व्यक्तिले आफ्नो व्यक्तिगत गुनासोका कारण यो अधिकार खोस्नु निन्दनीय छ,” एक स्थानीय शिक्षकले भने।
राजेन्द्र धामीले विद्यार्थीलाई खेलकुदबाट रोक्दै आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न खोजेको आरोप स्थानीयहरूले लगाएका छन्। “यो त खेलकुदको मात्र होइन, सिंगो शिक्षा प्रणाली र विद्यार्थीको भविष्यमाथि प्रहार हो,” एक अभिभावकले आक्रोश व्यक्त गरे।
धामीको हस्तक्षेपले धलौनका विद्यार्थी मात्र होइन, साईपाल गाउँपालिकाको शिक्षा र खेलकुद क्षेत्रलाई नै असर गरेको छ। यसले विद्यार्थीहरूको मनोबलमा नकारात्मक प्रभाव परेको छ।
राजेन्द्र धामीको यस्तो विवादास्पद क्रियाकलापप्रति स्थानीय प्रशासन र गाउँपालिकाको मौनता झन् आलोचनाको विषय बनेको छ। घटनापछि पनि कुनै ठोस कदम चाल्न नसक्नुले स्थानीय नेतृत्व र प्रशासनको भूमिकामाथि प्रश्न उठाएको छ।

“हामीले आफ्ना बालबालिकालाई सकारात्मक गतिविधिमा सहभागी गराउन यहाँसम्म ल्यायौं। तर यस्तो घटनाले विद्यार्थीको उत्साह मर्न गएको छ,” एक सहभागी विद्यालयका शिक्षकले भने।
खेलकुद विद्यार्थीको शारीरिक, मानसिक र सामाजिक विकासको प्रमुख आधार मानिन्छ। तर, यस घटनाले खेलकुदलाई राजनीतिक स्वार्थका लागि प्रयोग गरिने जोखिमलाई उजागर गरेको छ।
धामीजस्ता नेताहरूको व्यक्तिगत स्वार्थले विद्यार्थीको अवसर खोस्नु र प्रतियोगिताजस्तो सकारात्मक गतिविधिमा अवरोध पुर्याउनु आपत्तिजनक छ।
धामीको कदमप्रति स्थानीयवासीहरू आक्रोशित छन्। उनीहरूले राजेन्द्र धामीमाथि कडा अनुसन्धान र कारबाहीको माग गरेका छन्। “राजनीतिक गुनासोका लागि विद्यार्थीलाई होम्ने काम कुनै पनि हालतमा स्वीकार्य छैन। यो घटनाको ठोस छानबिन हुनुपर्छ,” स्थानीय एक अभिभावकले भने।
धामीको यो कदमले उनको राजनीतिक छविमा गम्भीर असर पुर्याएको छ। खेलकुदको मर्मलाई बुझेका समुदायले यस्तो कार्यलाई अस्वीकार गर्दै निष्पक्ष छानबिन र कडा कारबाहीको माग गरिरहेका छन्। यस्तो घटनाले भविष्यमा विद्यार्थीका अवसरहरू जोगाउन जिम्मेवार नेतृत्वको खाँचो झन् बलियो बनाएको छ।

