तनहुँ —जिल्लाको व्यास नगरपालिकाले फोहरबाट आम्दानी लिन सुरु गरेको छ । फोहरजन्य बस्तु बिक्री गरी नगरपालिकाले दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हो ।
बढ्दो बजारीकरणसँगै विभिन्न क्षेत्रलाई फोहर व्यवस्थापनमा समस्या भइरहेका बेला व्यास नगरपालिकाले फोहर बिक्री गरी २ लाख १७ हजार ४ सय ३९ रुपैयाँ आम्दानी गरेको हो ।
नगरपालिका क्षेत्रबाट संकलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न बस्तु बिक्री गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले बताए । ‘पानीका बोतल, आल्मुनियम, टिन, फलाम, कपीकिताब, गत्ता, टुक्रा कागज, सिसालगायत पुनःप्रगोग गर्न मिल्ने वस्तु बिक्री गरिएको हो,’ उनले भने ।
यस्तै, करिब एक लाख रुपैयाँ बराबरको फोहर बिक्रीका लागि तयारी अवस्थामा रहेको वन, वातावरण तथा सरसफाइ शाखाका प्रमुख कृष्णराज घिमिरेले बताए । ‘एलडी, एचएम, पीपी, गुडियालगायत सामान बिक्रीका लागि तयारी अवस्थामा राखिएको छ,’ उनले भने, ‘यी सामग्रीहरू पनि तिहारअगावै बिक्री गर्ने योजना छ ।’
नगरपालिकाले गत भदौ ८ गतेदेखि फोहरको सूक्ष्म वर्गीकरण थालनी गरेको थियो । गत साउनदेखि सिसा उठाउन सुरु गरी भदौबाट सिसा बिक्री गर्न थालिएको उनले बताए ।
उनका अनुसार नगरपालिकाले २ हजार ४ सय ५९ किलो पानीका बोतल तथा अन्य बोतलबाट ५६ हजार ५ सय ६८, १ सय ३ किलो आल्मुनियमबाट ६ हजार १ सय ८०, ५ सय ६२ किलो टिनबाट १४ हजार ६२, १ सय ७९ किलो फलामबाट ६ हजार २ सय ६५, ३ सय २६ किलो कपीबाट ५ हजार २ सय १६, ५ सय ६० किलो किताबबाट ७ हजार ८ सय ४०, ३ हजार २ सय १० किलो गत्ताबाट ३५ हजार ३ सय १०, १ सय ६५ टुक्रा कागजबाट १ हजार ३ सय २० र सिसाबाट ८४ हजार ६ सय ७७ रुपैयाँ आम्दानी गरेको छ ।
बजार क्षेत्रबाट निस्कने फोहरमैला व्यवस्थापनमा चुनौती भएकाले नगरपालिकाले घरबाटै फोहर वर्गीकरण गरी संकलन गर्न थालेको थियो । कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै वर्गीकरण गरी संकलन गर्ने र बिक्री गर्न योग्य फोहरबाट आम्दानी गरिएको वन, वातावरण तथा सरसफाइ शाखाका प्रमुख घिमिरेले बताए । ‘नकुहिने फोहर नगरपालिका प्रांगणमै संकलन गरी वर्गीकरण गरिन्छ,’ उन भने, ‘कुहिने फोहर दुम्सीस्थित गौ–संरक्षण केन्द्रमा व्यवस्थापन गरी बायोग्यास उत्पादन गर्ने काम गरिरहेका छौं ।’
नगरपालिकाले कुहिने र नकुहिने फोहरलाई छुट्टै/छुट्टै गाडीमा संकलन गर्ने गर्छ । नगरपालिकाले वडा नं. १, २, ३, ४ र ५ बाट दैनिक रूपमा १२ देखि १५ टन फोहर संकलन गर्दै आएको बताइएको छ ।