
कैलाली – एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा उत्तीर्ण भएका कैलालीका राहुल नेपालीको सम्पूर्ण शुल्क सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले तिरिदिने भएको छ ।
यस विषयमा चिकित्सा शिक्षा आयोगलाई भर्नामा सहजीकरण गरिदिन मन्त्रालयले पत्र लेखेको हो ।
चिकित्सा शिक्षा आयोगले लिएको भर्ना हुन पाउने परीक्षामा सफल भएका राहुललाई युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटल भैरहवामा भर्ना पाउने सूचीमा राखेको थियो ।
सो टिचिङ हस्पिटलले भर्नाको म्याद पुस २६ गतेदेखि माघ ४ गतेसम्म तोकेको थियो । उक्त टिचिङ हस्पिटलले एमबीबीएसको अध्ययनका लागि ४६ लाख लाग्ने कूल शुल्कमा १५ लाख भर्ना हुने समयमा नै बुझाउनु पर्ने भनेपछि राहुलले पैसाको जोहो गर्न नसकेर भर्ना नै छुटेको थियो ।
विपन्न परिवारका राहुलका परिवारको आर्थिक अवस्था कमजोर भएकाले आफैँले जोहो गरेर भर्ना गर्न सक्ने अवस्था नभएपछि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको छात्रवृत्तिमा छनोट उनलाई भर्नामा सहजीकरण गरी दिन मन्त्रालयले सोमबार पत्र पठाएको हो ।
पत्र पठाएपछि मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंहले प्रक्रिया छोट्याएर भएपनि राहुलको पढाइमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्न मन्त्रालय जमानत रहने बताएका छन् ।
अब राहुलले भर्ना पाउने–नपाउने भन्ने यकिन फागुन पहिलो साता हुनेछ । पहिलो पटकको सूचनाअनुसार भर्ना भएका विद्यार्थीहरूबाट सिट खाली भए कलेजले भर्नाको (र्यापअप म्याचिङ लिस्ट) सूची निकाल्छन् । त्यस अवस्थामा सिट खाली हुनआए आफूले भर्ना पाउने सम्भावना रहने विद्यार्थी राहुल नेपालीले बताए ।

