धनगढी – नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न (विच्छेद) थालेको छ ।
धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु गरेको जनाएको छ ।
विद्युत प्राधिकरणले धनगढी र अत्तरियामा समयमै विद्युत् महसुल नबुझाउने दुई सय ५३ ग्राहकको विद्युत् लाइन काटेको जनाएको छ ।
लामो समयदेखि विद्युत् महसुल नबुझाएका ग्राहकको बक्यौता रकम रु एक करोड ५३ लाख ४९ हजार तीन सय ६५ रहेको जनाइएको छ ।
वितरण केन्द्र धनगढीका प्रमुख मिथिलेशकुमार गोयलका अनुसार विद्युत् लाइन काट्न सुरु गरिएपछि एक सय ८० ग्राहकले महसुल बुझाएका छन् ।
एक महिनाको अवधिमा ती ग्राहकबाट रु ७८ लाख ३७ हजार चार सय ९१ विद्युत महसुलबापतको रकम असुली भएको उनले बताए ।
धनगढी विद्युत् वितरण केन्द्रले मालपोत कार्यालय, नापी, सडकलगायत गरी सातवटा सरकारी कार्यालयको लाइन काटेको छ । ती सात कार्यालयले रु छ लाख दुई हजार छ सय सात विद्युत् महसुल बुझाउन बाँकी रहेको वितरण केन्द्रको तथ्याङ्कले देखाएको छ ।
लाइन काटिएका सरकारी कार्यालयबाट रु एक लाख ४८ हजार छ सय ४० मात्र विद्युत् महसुलबापतको रकम असुली भएको वितरण केन्द्र प्रमुख गोयलले बताएका छन् । धनगढी विद्युत् वितरण केन्द्रअन्तर्गत ७९ हजार बढी ग्राहक रहेका छन् ।
वितरण केन्द्रले समयमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्ने क्रमलाई निरन्तरता दिँदै जाने जनाएको छ । विद्युत् विनियमावलीमा मिटर रिडिङ भएको ६०औँ दिनसम्म पनि वक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेको छ महिनासम्म पनि वक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान रहेको जनाइएको छ । रासस
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३