धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश सहमहामन्त्री पदमा सामाजिक अभियन्ता हेमराज जोशीलाई नेतृत्वमा ल्याउनुपर्ने माग कार्यकर्ता तथा शुभेच्छुकहरूबीच बलियो बन्दै गएको छ।
कैलालीको एक साधारण परिवारमा जन्मिएका जोशी लामो समयदेखि सामाजिक न्याय, सुशासन र नागरिक अधिकारको पक्षमा सक्रिय रूपमा आवाज उठाउँदै आएका छन्। सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएका उनी अन्याय, विभेद र भ्रष्टाचारविरुद्ध सडकदेखि सामाजिक अभियानसम्म अग्रसर हुँदै आएका व्यक्तिका रूपमा परिचित छन्।
विगत एक दशकभन्दा बढी समयदेखि विभिन्न सामाजिक मुद्दामा संघर्ष गर्दै आएका जोशीले विशेषगरी कोरोना महामारीका बेला समस्यामा परेका नागरिकलाई खाद्यान्न तथा राहत सामग्री वितरणमा सक्रिय भूमिका निर्वाह गरेका थिए। विपन्न तथा असहाय नागरिकको सहयोगमा निरन्तर खटिने उनको कार्यशैलीले समाजमा सकारात्मक छवि निर्माण गरेको छ।
उनले ‘आम युवा’ लगायतका सामाजिक अभियानमार्फत युवाहरूलाई संगठित गर्दै सामाजिक रूपान्तरणका लागि महत्वपूर्ण योगदान पुर्याएका थिए। पछिल्लो समय रास्वपामा आबद्ध भएपछि संगठन विस्तार, कार्यकर्ता परिचालन तथा पार्टीको विचार र एजेन्डालाई जनस्तरसम्म पुर्याउन सक्रिय भूमिका खेल्दै आएका छन्।
पार्टीभित्र इमानदार, संघर्षशील र जनभावना बुझ्न सक्ने नेतृत्वको आवश्यकता रहेको चर्चा भइरहेका बेला जोशीलाई सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीका लागि उपयुक्त उम्मेदवारका रूपमा हेरिएको छ। कार्यकर्ता तथा समर्थकहरूका अनुसार पदभन्दा जिम्मेवारीलाई प्राथमिकता दिने, जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने र संगठनलाई गतिशील बनाउन सक्ने क्षमताका कारण जोशीप्रति आकर्षण बढ्दो छ।
रास्वपाको सुदूरपश्चिम प्रदेश अधिवेशन नजिकिँदै जाँदा जोशीलाई सहमहामन्त्रीमा देख्न चाहनेहरूको संख्या बढ्दै गएको र उनको उम्मेदवारीले संगठनलाई थप ऊर्जा दिने विश्वास व्यक्त गरिएको छ।

