धनगढी- कैलालीको चुरे गाउँपालिका- २ देशना सलानीका लालबहादुर सार्कीको परिवारलाई आगलागीबाट भएको क्षतिपछि सङ्कलित सहयोग रकम हस्तान्तरण गरिएको छ।
गत जेठ २ गते अचानक भएको आगलागीबाट सार्कीको घरमा रहेको खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक सामग्री पूर्ण रूपमा नष्ट हुँदा परिवार ठूलो समस्यामा परेको थियो। आर्थिक तथा सामाजिक अवस्था कमजोर रहेको पीडित परिवारलाई सहयोग जुटाउन सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरिएको थियो।
सहयोग अभियानमा मनोज साउद, ललित दियाकोटी, यादव बोहरा, राम सार्की, बम सार्की, सेरबहादुर सार्की तथा भीमबहादुर सार्कीको सक्रियतामा विभिन्न सहयोगी मनहरूबाट रु ३२ हजार ६३५ सङ्कलन गरिएको थियो।
सङ्कलित रकम बुधबार वडा सदस्य नरबहादुर साउँदको अध्यक्षतामा आयोजित कार्यक्रममा पीडित परिवारलाई हस्तान्तरण गरिएको हो।
कार्यक्रममा उपस्थित वक्ताहरूले विपद्को समयमा मानवीय सहयोग र सामाजिक एकता महत्वपूर्ण हुने उल्लेख गर्दै सहयोग गर्ने सम्पूर्ण दाताप्रति आभार व्यक्त गरेका थिए। साथै पीडित परिवारले सहयोग अभियानमा साथ दिने सबै सहयोगीदाता तथा अभियानकर्मीप्रति धन्यवाद व्यक्त गरेका छन्।

