धनगढी – आज शहीद दिवस मनाइँदै छ । देश र नागरिकको हित र अधिकारका लागि जीवन त्याग गरेका शहीदको सम्झना गरी हरेक वर्ष माघ १६ मा विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाउने गरिन्छ।
प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन त्याग गरेका शहीदको सम्झनामा देशभर कार्यक्रम गर्ने गरिन्छ ।
आजको दिन शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ तथा प्रजातान्त्रिक आन्दोलनका अरू शहीदको योगदानलाई स्मरण गर्ने गरिन्छ । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताहका रुपमा मनाउने गरिन्छ।
राणा शासनको विरोध गर्दा १९९७ सालमा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाण्डौको टेकुमा रहेकाे पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो ।
यस वर्ष आज शहीद दिवसको दिन सार्वजनिक बिदा नहुने तर राष्ट्रिय पर्वका रूपमा मनाउने गृह मन्त्रालयले जनाएको छ ।
सरकारले सार्वजनिक बिदा दिन यसअघि गरेको निर्णय अर्को वर्ष २०८१ सालदेखि लागू हुने गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
गएको पुस १२ गते बसेको मन्त्रिपरिषद् बैठकले शहीद दिवस र रामनवमी गरी २ दिन सार्वजनिक बिदा थप्ने निर्णय गरेको थियो ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३