
काठमाडौँ – मन्त्रीपरिषद्को बैठकमा हुँदै आएको खाजा खर्च कटौती भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकमा उक्त खाजा खर्च कटौती गरिएको जनाएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले सोमबारदेखि मन्त्रीपरिषद् बैठकको खाजा खर्च कटौती गरेको हो ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको बताए ।
प्रत्येक मन्त्रीपरिषद् बैठकमा खाजाबापत करिब ६० हजार रुपियाँ खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । त्यस अनुसार वर्षमा एक सयभन्दा बढी मन्त्रीपरिषद्का बैठकमा हुने करिब ६० लाख रुपियाँ खर्च कम हुने भएको छ । नयाँ व्यवस्था अनुसार बैठकमा सामान्य खाजा खुवाउन सुरु गरिएको छ ।