
कैलाली – कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा यूथ अफ टिकापुर र गरुडा नगरपालिका विजयी भएका छन्। समूह ’बि’ बाट यूथ अफ टिकापुरले सेमिफाइनलमा स्थान समेत पक्का गरेको छ।
शनिवारको पहिलो खेलमा यूथ अफ टिकापुरले कैलाली मल्टिपल क्याम्पसलाई पराजित गर्दै समूह चरणमा तिन वटै जितको साथ सेमिफाइनलमा स्थान सुरक्षित गर्यो। यूथ अफ टिकापुरले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित ११ ओभरमा कैलालीले ७ विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो।
कैलालीको ब्याटिङमा कप्तान दीपक कँडेलले सर्वाधिक ३८ रन र पारस रोकायाले १२ रन योगदान दिए। यूथ अफ टिकापुरका सुमित महर्जनले २ विकेट लिँदा मोहम्मद हुसेन, हरि चौहान, गौतम केसी र प्रकाश जैसीले १्१ विकेट लिए।
खराब मौसमका कारण ११ ओभरमा घटाइएको खेलमा टस जितेर ब्याटिङ गर्दै यूथ अफ टिकापुरले ७ विकेट गुमाएर ९४ रन बनायो।टिकापुरको लागि प्लेयर अफ द म्याच घोषित गौतम केसी तथा प्रकाश जैसीले समान ३४ रनको योगदान दिए। केसीले २७ बलमा १ चौका र ३ छक्का तथा जैसीले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे। ३८ रनमा ४ विकेट गुमेको अवस्थामा केसी र जैसीले छैटौँ विकेटको लागि ५५ रनको साझेदारी गरे।
कैलालीको बलिङमा अभिषेक कुँवर र सुशील बिस्टले २्२ तथा लोकेन्द्र खनाल र पारस रोकायाले १्१ विकेट लिए। दिनको दोस्रो खेलमा गरुडा नगरपालिकाले विजयी सुरुवात गर्ने क्रममा सुदुरपश्चिमान्चल एकेडेमीलाई ९८ रनले पराजित गर्यो।
गरुडाले दिएको १७४ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमान्चल एकेडेमीले २० ओभर ब्याटिङ गरेता पनि ८ विकेट गुमाएर ७५ रन मात्र बनायो।सुदुरपश्चिमान्चल एकेडेमीको लागि निसान रेग्मीले १८ तथा सौर्य श्रेष्ठले १४ रन बनाए। गरुडाका बलर धर्मेन्द्र साहले ४ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा १२ रन मात्र खर्चिए। नरेश शाह, रुपेश सिंह र नितेश यादवले १्१ विकेट लिए।
टस जितेर ब्याटिङ गरेको गरुडाले २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो। गरुडाको लागि रुपेश सिंहले आक्रामक ब्याटिङ गर्दै ६० रन योगदान दिए जुन क्रममा उनले २९ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। निश्चल बिक्रमले अविजित ४३ रन बनाए जुन क्रममा २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। ७६ रनमा ६ विकेट गुमेको अवस्थामा रुपेश र निश्चलले ७४ रनको साझेदारी गरे।
सुदुरपश्चिमान्चलको बलिङमा पारस सुनार र सन्दीप बिस्टले २÷२ विकेट लिए। प्रकाश जोशी, वीरेन्द्र चन्द, सौर्य श्रेष्ठ र सागर साउदले १्१ विकेट लिए।
प्रतियोगिता अन्तर्गत शनिवार पनि दुई खेल हुनेछन्। पहिलो खेल बिहान ९ बजे घोडाघोडी क्रिकेट एकेडेमी र गरुडा नगरपालिका बिच तथा दोस्रो खेल दिउँसो १ बजे सत्यवती एकेडेमी र लिटल एन्जल्सबीच हुनेछ।
लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता रहेको छ।